images
images
  • संघीय सरकारले मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गर्यो किन ?

    काठमाडौं– खडेरीका कारण गम्भीर संकटमा परेको मधेस प्रदेशलाई संघीय सरकारले औपचारिक रूपमा ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशका आठ जिल्लालाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेको हो ।

    बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले जानकारी दिँदै भने, ‘अन्न भण्डारका रूपमा चिनिने मधेसमा हाल खानेपानी र सिँचाइको अभावका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ । त्यही कारण मन्त्रिपरिषद्ले यो घोषणा गर्नुपरेको हो ।’

    मन्त्री चौरासियाका अनुसार सरकारले अब समस्या समाधानका लागि आपत्कालीन तथा दीर्घकालीन उपायहरू तत्काल कार्यान्वयनमा ल्याउनेछ ।

    ‘सरकार डिप बोरिङ, नदीनालाबाट पानी तानेर सिँचाइको व्यवस्था गर्ने, खानेपानीका लागि ट्यांकरमार्फत आपूर्ति गर्ने र दीर्घकालमा वैकल्पिक स्रोतहरू विकास गर्ने कार्य अघि बढाउँछ,’ मन्त्री चौरासियाले बताए ।

    उनका अनुसार संघीय सरकारले सबै सम्भव स्रोत र संयन्त्र प्रयोग गरी मधेसको संकट समाधानमा जुट्ने प्रतिवद्धता जनाएको छ ।

    खडेरीका कारण खेतीबाली सुक्दै गएको, खानेपानीको हाहाकार बढ्दै गएको र हजारौं जनसंख्या प्रभावित बनेको अवस्थामा सरकारले चालेको यो कदमप्रति स्थानीयवासीले तत्काल राहतको अपेक्षा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images