images
images
  • यूएस बंगला विमान दुर्घटना: अदालतको फैसला, ३७ करोड क्षतिपूर्ति

    काठमाडौं जिल्ला अदालतले २०७४ फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा पाइलट र को–पाइलटकै लापरबाही ठहर गर्दै पीडित परिवारलाई ३७ करोड ६६ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिन विमान कम्पनीलाई आदेश दिएको छ।

    न्यायाधीश डा. दिवाकर भट्टको इजलासले १७ जना पीडित (मृतकका आफन्त र एक घाइते) का तर्फबाट दायर मुद्दामा यस्तो फैसला गरेको हो। अदालतले मृतकका परिवारलाई ६२ लाखदेखि ३ करोड ६७ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको छ।

    दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी थिए। घाइतेमध्ये एक समिरा व्यञ्जनकार थिइन्, जसलाई ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिन भनिएको छ।

    छानबिन प्रतिवेदनमा पाइलट अविद सुल्तानको मानसिक तनाव, ककपिटमा चुरोट पिउनु, र उपयुक्त निर्णय नलिनुजस्ता लापरवाही प्रमुख कारण देखिएका थिए।

    अदालतले ‘वारसा कन्भेन्सन’ र ‘मोन्ट्रियल सम्झौता’का आधारमा असीमित दायित्व मानेर ‘ओग्डन टेबल्स’ अनुसार क्षतिपूर्ति निर्धारण गरेको हो।

    सरकारले अहिले तयार पारेको विधेयकले आन्तरिक उडानमा यात्रुको मृत्यु भए अधिकतम १ लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) सम्म क्षतिपूर्ति दिने व्यवस्था प्रस्ताव गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images