
काठमाडौं– केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई मन्त्रीहरू फिर्ता बोलाउन सुझाव दिएका छन् ।
आज (मंगलबार) बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्व महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतले मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन गरी नतिजा नदिएका मन्त्रीहरूलाई फिर्ता बोलाउन आग्रह गरेका हुन् ।
भेटमा सहभागी गोपालमान श्रेष्ठले कांग्रेस सरकारमा सहभागी भएको एक वर्ष पुगेकाले अब मूल्याङ्कनको समय आएको बताए ।
श्रेष्ठका अनुसार नेताहरूले सरकारलाई प्रभावकारी बनाउने र पार्टी कार्यकर्तामाझ मात्रै होइन, आगामी भदौदेखि आम जनतासम्म पुग्ने गरी सरकारको छवि सुधार गर्न देउवालाई आग्रह गरेका थिए ।
नेताहरूको धारणा अनुसार गठबन्धन सरकारको आलोचना बढिरहेको सन्दर्भमा कांग्रेसले पनि आफ्नो भूमिकामाथि पुनर्विचार गर्न आवश्यक भएको देखिएको छ ।
मन्त्रीहरूको कमजोरी जनतामाझ पार्टीको छवि कमजोर बनाउने भएकाले नेतृत्वले आवश्यक निर्णय लिनुपर्ने नेताहरूको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्