काठमाडौं– नेपाली कांग्रेसका केही वरिष्ठ पूर्वपदाधिकारीहरू पार्टीको आसन्न १५औं महाधिवेशनलाई लिएर आज काठमाडौंको चाक्सीबारीमा छलफलमा जुटेका छन् ।
छलफलको पहल पूर्वमहामन्त्री प्रकाशमान सिंहले गरेका हुन् । पूर्वउपसभापति विमलेन्द्र निधीका अनुसार छलफल दिउँसो २ बजेका लागि तय गरिएको थियो ।
छलफलमा सिंह, निधी, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सहभागी हुने जनाइएको छ । यी सबै नेताहरू सभापति शेरबहादुर देउवाको नेतृत्व पक्ष (संस्थापन पक्ष) सँग निकट छन् ।
पछिल्ला दिनहरूमा महाधिवेशनको तयारी र सम्भावित नेतृत्वबारे विचार आदानप्रदान गर्न यी नेताहरू आलोपालो एक–अर्काको निवासमा नियमित छलफल गर्दै आएका छन् ।
सभापति देउवाले आगामी महाधिवेशनमा पुनः उम्मेदवारी नदिने संकेत दिइसकेका छन् । तर, देउवा पक्षबाट नयाँ सभापतिका लागि को उम्मेदवार बन्ने भन्ने प्रश्न अझै स्पष्ट भएको छैन ।
यही अनिश्चितताबीच गत फागुन २ गते संस्थापन पक्षका ११ नेताहरूले बूढानीलकण्ठस्थित देउवाको निवासमै पुगेर नयाँ सभापति उम्मेदवार टुंग्याउन आग्रह गरेका थिए ।
त्यसयता सिंह, सिटौला, निधी, कोइराला, गोपालमान श्रेष्ठलगायत नेताहरूबीच घनिभूत छलफल भइरहेको छ ।
आजको बैठक पनि यही सिलसिलाको निरन्तरता हो । उनीहरूबीच नेतृत्व चयन, कार्यशैली सुधार, र महाधिवेशनको पूर्वतयारीका विषयमा व्यापक छलफल भइरहेको बुझिएको छ ।






















