काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) राजनीतिमा सक्रिय हुने घोषणा गरेपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई पूर्वराष्ट्रपतिको हैसियतमै सम्मानपूर्वक बस्न सुझाव दिएका छन् ।
आइतबार च्यासलमा दुई घण्टा लामो एकल भेटवार्तामा दुवैबीच सदस्यता नवीकरण र पार्टी जिम्मेवारीलाई मुख्य एजेण्डा बनाइयो ।
स्रोतका अनुसार ओलीले पार्टीबाट दशकअघि अलग भएकाले भण्डारीको नाम स्रेस्तामा चढाएर नवीकरण गर्न नसकिने बताएका थिए ।
भण्डारीले भने पार्टी राजनीतिमा पुनः फर्किनु आफू र ओलीबीचकै अघिल्लो सहमतिको निरन्तरता भएको बताएकी छन् ।
उनले केही नेताबाट आफ्नो अपमान हुने टिप्पणी आएको भन्दै असन्तुष्टि पनि जनाइन् ।
बालुवाटार स्रोतका अनुसार भण्डारीले सदस्यता पुनप्र्राप्तिको प्रक्रियामा त्रुटि भएको स्वीकार गरेकी छन् ।
उनका पक्षधरहरू रसिद सुरक्षित रहेको भन्दै यो प्राविधिक विषय भएको तर्क गर्दै छन् भने उक्त रसिदमा अध्यक्ष ओलीको हस्ताक्षर रहेको दाबी गरेका छन् ।
आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको सुरुवातमै ओलीले भण्डारीसँगको कुराकानीबारे जानकारी दिने जनाइएको छ ।
भण्डारी अहिले मदन भण्डारीको ७५औं जयन्तीको मूल समिति संयोजन गर्दै राष्ट्रिय अभियानमा सक्रिय छिन् ।






















