काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय समिति बैठक पार्टी कार्यालय च्यासलमा बस्दैछ ।
भदौमा हुने विधान महाधिवेशनको तयारीसहित पार्टी विधान संशोधन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश, र पार्टीभित्रको लाइन संघर्ष बैठकको मुख्य एजेन्डा हुन् ।
७० वर्षे उमेर सीमा र पदाधिकारीको दुई कार्यकालको सिमालाई हटाउने प्रस्ताव सचिवालय र पोलिटब्युरोबाट आइसकेको छ । यिनै विषयमा केन्द्रीय समितिले निर्णय गर्नेछ ।
पार्टीमा अध्यक्ष केपी शर्मा ओली र भण्डारी नेतृत्वको पक्षबीचको अन्तरद्वन्द्व चर्किंदै गएको बेला बैठक हुन लागेको हो ।
बैठकको अघिल्लो दिन ओली र भण्डारीबीच च्यासलमा करिब दुई घण्टा लामो कुराकानी भएको थियो ।
भण्डारीको पार्टी सदस्यता नवीकरण पनि विवादमा परेको छ । ओली पक्षले सदस्यता पेन्डिङमा रहेको भनेको छ भने भण्डारी पक्षले यसको विरोध गरिरहेको छ ।
भण्डारी पक्षको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरू खुल्ला रूपमा भण्डारी पक्षमा उभिएका छन् ।






















