images
images
  • मदन भण्डारीको अवसान पश्चात् ओलीले नै नेपाललाई महासचिवमा अगाडि सारे, अहिले दुस्मनी साधे

    काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (एमाले) केपी शर्मा ओलीले आगामी ११औं महाधिवेशनमा पनि अध्यक्ष पद नछोड्ने संकेत दिएका छन् ।

    पोलिटब्युरो बैठकमा उनले ७० वर्षे उमेरहद र कार्यकालको सीमाबारे विधानमा प्रावधान नराख्ने तर्क गर्दै आफूमा अझै एक कार्यकाल नेतृत्व गर्न सक्ने ऊर्जा, सामथ्र्य र प्रतिबद्धता रहेको दाबी गरे ।

    अध्यक्ष ओलीले विगतमा पार्टी संकटको बेलामा समेत पद नलिएको उदाहरण दिँदै आफू पदलोलुप नभएको बताए ।

    मदन भण्डारीको निधनपछि आफैंलाई महासचिव बन्न प्रस्ताव आए पनि माधव नेपाललाई अगाडि सारेको स्मरण गराए । यद्यपि अहिले उनीहरूबीच दुस्मनी बढेको छ ।

    उनले २०५२ देखि २०५४ सालसम्मको अन्तर्कलह र विभाजनका घटनासमेत उठाउँदै आफूले सधैं पार्टीलाई प्राथमिकता दिएको दाबी गरे ।

    बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित पुनरागमनबारे असहमति जनाउँदै गणतान्त्रिक पद सम्हालेका व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्किनु लोकतान्त्रिक मूल्य र पार्टी दुवैका लागि अनुपयुक्त हुने धारणा राखे ।

    उनले पार्टीमा आफ्नो नेतृत्व अझै अपरिहार्य रहेको बताउँदै उमेरहद र कार्यकालसम्बन्धी प्रावधान अहिले असान्दर्भिक भइसकेको तर्क प्रस्तुत गरे ।

    आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकले ओलीको भावी रणनीति र भण्डारीको भूमिकाबारे स्पष्ट सन्देश दिने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images