काठमाडौं– आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चलिरहेका सरकार परिवर्तनसम्बन्धी चर्चा–परिचर्चालाई खारेज गर्दै सरकारको नेतृत्व बाँडफाँटका विषयमा नेपाली कांग्रेससँगको सहमति यथावत् रहेको स्पष्ट पारेका छन् ।
आइतबार साँझ ६ बजेका लागि तय गरिएको बैठक करिब सवा ७ बजे सुरु भई झन्डै डेढ घण्टा सञ्चालन भएको थियो ।
बैठकको सुरुवात मन्त्रालयगत विषयमा छलफल र निर्णयबाट भएको भए पनि त्यसपछि प्रधानमन्त्री ओलीले पछिल्ला राजनीतिक बहसहरूमा मन्तव्य राखेका थिए ।
बैठकमा सहभागी मन्त्रीहरूका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको ११ महिनापछि नेतृत्व हस्तान्तरण गर्ने सहमति कायम रहेको बताएका थिए ।
प्रधानमन्त्रीले मन्त्रीहरूलाई झनै सक्रिय हुन निर्देशन दिँदै कांग्रेस नेता डा.शेखर कोइरालाको नाम पनि उल्लेख गरेका थिए । उनका अनुसार, ‘शेखर कोइरालालगायत केही नेताहरू सांसद संख्या देखाउँदै अघि बढ्न खोजिरहेका छन्, तर उनीहरूलाई विपक्षीले उक्साइरहेका छन् ।’
बैठकमा ओलीले च्यासलस्थित पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको एकान्त भेटबारे पनि जानकारी गराएका थिए ।
एक मन्त्रीका अनुसार, ‘पूर्वराष्ट्रपतिलाई विपक्षीहरूले प्रयोग गर्न खोजिरहेका छन् भन्ने विषय उठेको थियो । तर, प्रधानमन्त्रीले त्यो सम्भव नहुने र पार्टीभित्रको एकता झनै मजबुत बनेको बताएका थिए ।’






















