काठमाडौं । मन्त्रिपरिषद् बैठक आइतबार साँझ बस्यो । बैठक नियमित तालिकाअनुसार साँझ ६ बजे बोलाइएको भए पनि करिब सवा घण्टा ढिलो गरी सवा ७ बजे सुरु भयो। बैठक झन्डै डेढ घण्टा चल्यो।
सुरुवातमा मन्त्रालयगत विषयहरूमा छलफल गर्दै केही आवश्यक निर्णयहरू गरिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा सरकार परिवर्तनसम्बन्धी सार्वजनिक चर्चाहरूमा टिप्पणी गरे।
दुई मन्त्रीहरूका अनुसार प्रधानमन्त्रीले नेपाली कांग्रेससँगको सहकार्यमा कुनै समस्या नभएको प्रष्ट पारे। “अबको ११ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने सहमति यथावत् छ। देउवाजीसँग निरन्तर सम्पर्कमै छु,” प्रधानमन्त्री ओलीले भनेको ती मन्त्रीहरूले बताए।
प्रधानमन्त्रीले मन्त्रीहरूलाई सक्रियता बढाउन निर्देशन दिँदै कांग्रेस नेता डा. शेखर कोइरालाको पनि नाम लिए। “शेखर कोइरालालगायत कांग्रेसका केही नेताहरू सांसद संख्या देखाएर अघि बढ्ने संकेत देखिएको छ। तर, उनलाई विपक्षीले उक्साइरहेका छन्,” प्रधानमन्त्रीको भनाइ थियो। उनले अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए।
बैठकमा प्रधानमन्त्रीले सोही दिन च्यासलस्थित पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको ‘वान टु वान’ भेटबारे पनि जानकारी गराएका थिए।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपतिलाई विपक्षीसहित प्रयोग गर्ने प्रयास भइरहेको सुनाएका थिए तर त्यो सम्भव नहुने स्पष्ट पारे। “हामी पार्टीभित्र एकताबद्ध छौं। आजको भेटले त्यो एकता झन् बलियो बनाएको छ,” उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने।























