काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ ।
दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा हुने भनिएको उक्त भेटका लागि दुवै पक्ष तयार भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।
यद्यपि, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटबारे पार्टीलाई औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।
पूर्वराष्ट्रपति भण्डारी पार्टीको गतिविधिमा सक्रिय रूपमा देखिँदा पनि एमालेले उनको सदस्यता हालसम्म नवीकरण गरेको छैन ।
केही समयअघि बसेको पोलिटब्युरोको चौथो बैठकमा अध्यक्ष ओलीले नै भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए ।
भण्डारीको सक्रियता र पार्टीमा उनको औपचारिक भूमिकाको विषयमा अध्यक्ष ओलीले स्पष्ट निर्णय लिने तयारी गरिरहेका छन् ।
आइतबारको भेटवार्ता यही विषयमा केन्द्रित हुने अनुमान गरिएको छ । एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने तय भएको छ ।
बैठकको पूर्वसन्ध्यामा यो भेटले पार्टीभित्रको आन्तरिक समीकरण र भूमिकाबारे थप स्पष्टता आउने विश्वास गरिएको छ ।
हालसम्म एमालेले भण्डारीको सदस्यता नवीरकण गरेको छैन ।























