images
images
  • नेतान्याहुलाई सत्ताबाट हटाउन विपक्षी दलहरू एकजुट हुन सक्लान् ?

    एजेन्सी– इजरायलमा नयाँ सरकार गठनका लागि डिसेम्बर ६ को पहिलो समयसीमा नजिकिँदै गर्दा कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूलाई सत्ताबाट हटाउने प्रयासमा रहेको विपक्षी गठबन्धनभित्रको विभाजनलाई उपयोग गर्न खोजेका छन् ।

    गत बुधबार उनले पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटसँग गोप्य भेटवार्ता गरेका थिए । उक्त भेटपछि नेतान्याहुले विपक्षी गठबन्धनभित्रै विभाजन ल्याउन खोजेको आरोप लागेको छ ।

    नेतान्याहुको कार्यालयले उक्त भेटलाई ‘सुरक्षा विषयमा जानकारी आदानप्रदान’ भने पनि गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनका नेताहरूले यसलाई ‘रणनीतिक रूपमा ठूलो गल्ती’ भन्दै आलोचना गरेका छन् ।

    इजरायली सञ्चारमाध्यम यनेटका अनुसार बेनेटले नेतान्याहुसँगको भेटबारे आइजेनकोटलाई पूर्वजानकारी दिएका थिएनन् । त्यसपछि विपक्षी नेताहरूबीच भएको बैठकमा बेनेटले नेतान्याहुसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने सम्भावनासमेत खोज्नुपर्ने धारणा राखेका थिए ।

    बेनेट दक्षिणपन्थी नेता हुन् । उनीसहित विपक्षी गठबन्धनका केही प्रमुख नेताहरू यसअघि नेतान्याहु नेतृत्वकै सरकारमा सहभागी भइसकेका छन् । आइजेनकोट पनि सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बनेको नेतान्याहु नेतृत्वको आपत्कालीन एकता सरकारमा सहभागी भएका थिए । उनले बिना विभागीय मन्त्रीका रूपमा युद्ध मन्त्रिपरिषद्मा समेत काम गरेका थिए ।

    त्यस्तै, विपक्षी गठबन्धनका अर्का दक्षिणपन्थी नेता अभिग्दोर लिबरम्यानले पनि नेतान्याहु सरकारमा विदेशमन्त्री र रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

    आइजेनकोट नेतृत्वको गठबन्धनका एक वरिष्ठ नेताले यनेटसँग भनेका छन्, ‘नेतान्याहु बेनेटमार्फत परिवर्तनको पक्षमा रहेको विपक्षी गठबन्धनलाई टुक्र्याउने प्रयास गरिरहेका छन् ।’

    तर गठबन्धनमा रहेका नेताहरूको राजनीतिक विचारधारा निकै फरक छ । लिबरम्यानको कट्टर दक्षिणपन्थी राजनीतिक दृष्टिकोणदेखि डेमोक्र्याट्स पार्टीका नेता यायर गोलानको तुलनात्मक रूपमा वामपन्थी विचारधारासम्मका नेताहरू एउटै मोर्चामा छन् । यसले गठबन्धनको एकता कति समय टिक्छ भन्ने प्रश्न उठाएको छ ।

    सन् २०२१ मा नेतान्याहुसँग सम्बन्ध विच्छेद गर्नुअघि बेनेट उनका निकट राजनीतिक सहयोगी थिए । त्यसपछि उनले मध्यमार्गी नेता यायर लापिडसँग मिलेर वैकल्पिक सरकार गठन गरेका थिए । उक्त गठबन्धनले नेतान्याहुको लगातार १२ वर्ष लामो शासन अन्त्य गरेको थियो । सरकारको पहिलो आधा कार्यकाल बेनेटले प्रधानमन्त्रीका रूपमा नेतृत्व गरेका थिए ।

    तर बेनेटका धेरै नीतिगत धारणा अझै पनि नेतान्याहुसँग मिल्दोजुल्दो छन् ।

    विपक्षी गठबन्धनमा वैचारिक एकता कति छ ?

    विपक्षी गठबन्धनमा रहेका सबै दलले गाजामा इजरायलले सञ्चालन गरेको युद्धको सुरुवाती चरणमा समर्थन गरेका थिए । उनीहरूले इरान र लेबनानसहित क्षेत्रका अन्य मुलुकमाथि इजरायलले गरेका आक्रमणलाई पनि समर्थन गरेका थिए ।

    यद्यपि, आन्तरिक नीतिका विषयमा गठबन्धनका नेताहरूबीच उल्लेखनीय मतभेद छन् ।

    गठबन्धनका नेता गादी आइजेनकोट र बेनेटका चुनावी साझेदार यायर लापिडलाई तुलनात्मक रूपमा मध्यमार्गी नेताका रूपमा लिइन्छ । यसको विपरीत बेनेट र लिबरम्यान दक्षिणपन्थी धारका नेता हुन् ।

    बेनेट धार्मिक राष्ट्रवादी हुन् भने लिबरम्यान धर्मनिरपेक्ष राजनीतिक विचारधाराका पक्षधर हुन् । रुसी भाषी समुदायको पृष्ठभूमि भएका लिबरम्यान इजरायलको प्रभावशाली धार्मिक राजनीतिक शक्तिसँग लामो समयदेखि असहमत रहँदै आएका छन् ।

    गठबन्धनमा रहेका अर्का नेता यायर गोलान भने वामपन्थी धारका हुन् । उनी प्यालेस्टाइनसँग दुई राज्य समाधानको पक्षमा छन् । कब्जा गरिएको वेस्ट बैंकमा यहुदी बस्तीका बासिन्दाबाट प्यालेस्टिनीमाथि हुने हिंसाको उनले खुलेर आलोचना गर्दै आएका छन् । यस्तो हिंसालाई इजरायली सरकारले प्रोत्साहन वा बेवास्ता गरिरहेको उनको आरोप छ ।

    के गठबन्धनभित्र तनाव बढिरहेको छ ?

    हो । नेतान्याहुले विपक्षी गठबन्धनलाई विभाजित गर्ने प्रयास गरिरहँदा आइजेनकोटका लागि संसद्मा बहुमत जुटाउनु पनि ठूलो चुनौती बनेको छ ।

    अक्टोबर २७ मा सम्पन्न निर्वाचनपछि आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनसँग इजरायली संसद्का १२० मध्ये ४८ सिट मात्रै छन् । सरकार गठनका लागि आवश्यक बहुमत पुर्‍याउन थप १३ सिट आवश्यक छ ।

    यसका लागि गठबन्धनका नेताहरूले गहिरो राजनीतिक मतभेदलाई समाधान गर्नुपर्नेछ ।

    गोलानले प्यालेस्टिनी नागरिकको प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिसकेका छन् । उनले ती दलहरूको समर्थनमा सरकार गठन गर्न सकिने सम्भावनाप्रति सकारात्मक धारणा राखेका छन् ।

    तर गठबन्धनका अन्य नेताहरूले उनको प्रस्ताव अस्वीकार गरेका छन् । प्यालेस्टिनी दलको समर्थनमा सरकार गठन गर्ने सम्भावनालाई लिएर दक्षिणपन्थी प्रदर्शनकारीहरूले गृहयुद्धसम्मको चेतावनी दिएका छन् ।

    लिबरम्यानले प्यालेस्टिनी दलहरूको समर्थनमा निर्भर रहने कुनै पनि सरकार गठनको सम्भावनालाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन् । उनको यिसरेल बेतेनु पार्टीसँग संसद्मा सात सिट छन् ।

    तर यहुदी अतिवादी अर्थोडक्स समुदायका पुरुषलाई अनिवार्य सैनिक सेवाबाट दिइँदै आएको छुटको विषयमा भने उनको अडान नरम हुँदै गएको देखिएको छ । यसको एउटा कारण शास र युनाइटेड टोरा यहुदिज्म पार्टीसँग रहेका १३ सिट हुन सक्ने विश्लेषण गरिएको छ ।

    लिबरम्यानले सैनिक सेवासम्बन्धी आफ्नो अडानमा सम्झौता गरेमा उनको प्रमुख चुनावी प्रतिबद्धता कमजोर हुन सक्छ । यसले विपक्षी गठबन्धनका अन्य नेताहरूलाई समेत राजनीतिक दबाबमा पार्न सक्छ र उनीहरूका समर्थकबाट विरोध हुन सक्छ ।

    गठबन्धनका नेताहरूबीच मतभेद कसरी बाहिरियो ?

    गत अगस्टमा बेनेटले आइजेनकोटको प्रस्ताव अस्वीकार गरेका थिए । आइजेनकोटले अर्थोडक्स यहुदी समुदायका केही व्यक्तिलाई अनिवार्य सैनिक सेवाबाट सीमित छुट दिने प्रस्ताव गरेका थिए ।

    बेनेटले उक्त प्रस्तावलाई ‘गम्भीर गल्ती’ भन्दै अस्वीकार गरेका थिए । उनले अर्थोडक्स राजनीतिक नेता आर्येह डेरी र मोशे गाफ्नीले आइजेनकोटलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पार्न सक्ने चेतावनीसमेत दिएका थिए ।

    त्यसको जवाफमा आइजेनकोटले बेनेट र लिबरम्यानमाथि ‘पुरानो राजनीति’ गरिरहेको आरोप लगाएका थिए । विपक्षी गठबन्धनको सबैभन्दा ठूलो दलले नै आगामी सरकारको नेतृत्व गर्नुपर्ने विषयमा सहमति जनाउन नसक्दा उनीहरूले चुनावी सम्भावना कमजोर बनाएको आइजेनकोटको आरोप थियो ।

    निर्वाचन हुनुभन्दा केही साताअघि लिबरम्यानले आइजेनकोटलाई ‘गान्ट्ज २.०’ को संज्ञा दिएका थिए । उनले पूर्वरक्षामन्त्री बेन्नी गान्ट्जको उदाहरण दिँदै आइजेनकोटले पनि नेतान्याहुसँग गोप्य सम्झौता गर्न खोजेको आरोप लगाएका थिए ।

    सन् २०२० मा नेतान्याहुविरुद्ध चुनावी अभियान चलाएका गान्ट्ज पछि उनकै सरकारमा सहभागी भएका थिए ।

    लिबरम्यानले आइजेनकोटमाथि व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षा पूरा गर्न खोजेको आरोप पनि लगाएका थिए । निर्वाचनपछि गोलानले लिबरम्यानलाई अर्थोडक्स यहुदी समुदायका पुरुषलाई सैनिक सेवामा अनिवार्य सहभागी गराउने विषयमा अडान नछाडे नेतान्याहुसँग मिलेर सरकार बनाउन चुनौती दिएका थिए ।

    विपक्षी नेताहरूले विगतमा नेतान्याहुबारे के धारणा राख्थे ?

    विपक्षी गठबन्धनका सबै नेताहरूले विगतमा नेतान्याहुको कडा आलोचना गरेका थिएनन् । उनीहरूका पुराना अभिव्यक्तिले नेतान्याहुसँगको राजनीतिक सम्बन्ध कति उतारचढावपूर्ण थियो भन्ने देखाउँछ ।

    सन् २०२० मा बेनेटले व्यक्तिगत मतभेद भए पनि नेतान्याहुप्रति आफूले ‘धेरै सम्मान’ गर्ने बताएका थिए । उनले नेतान्याहु लामो समय प्रधानमन्त्री रहनु इजरायलका लागि उपलब्धि भएको भन्दै उनले देशका लागि धेरै राम्रा काम गरेको टिप्पणी गरेका थिए ।

    त्यस्तै, लिबरम्यानले सन् २०१९ मा जेरुसेलम पोस्टसँगको कुराकानीमा नेतान्याहुको सफलताको कामना गरेका थिए । भ्रष्टाचारसम्बन्धी आरोपमा नेतान्याहु निर्दोष साबित होऊन् भन्ने आफ्नो चाहना रहेको उनले बताएका थिए ।

    तर पछिल्लो समय लिबरम्यानले नेतान्याहुमाथि लागेका भ्रष्टाचारका आरोपलाई उनको राजनीतिक नेतृत्व अयोग्य रहेको प्रमाणका रूपमा पटकपटक प्रस्तुत गर्दै आएका छन् ।

    यसरी विगतमा नेतान्याहुसँगै काम गरेका र अहिले उनलाई सत्ताबाट हटाउने लक्ष्यसहित एकजुट भएका विपक्षी नेताहरूबीचको वैचारिक तथा राजनीतिक दूरी नै इजरायलको आगामी सरकार गठनको निर्णायक चुनौती बन्ने देखिएको छ । –अलजजीरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images