काठमाडौं– इन्जिनमा आगो वा स्पार्क देखिएको संकेतपछि हङकङबाट पपुवा न्युगिनीतर्फ उडेको एयर न्युगिनीको विमानले शनिबार दक्षिणी फिलिपिन्सको डाभाओ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको छ ।
विमानमा सवार १३७ यात्रु र नौ चालकदलका सदस्य गरी सबै १४६ जना सुरक्षित रहेका छन् ।
फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका अनुसार बोइङ ७६७–३८३ ईआर विमानका पाइलटले दायाँ इन्जिनमा सम्भावित आगो वा स्पार्क देखिएको संकेत पाएपछि सुरक्षा प्रक्रिया अपनाएर विमानलाई निर्धारित मार्गबाट डाभाओतर्फ मोडेका थिए ।
मध्यरातपछि गरिएको अवतरणका क्रममा आपत्कालीन स्लाइड प्रयोग गरी बाहिरिएका कसैलाई चोटपटक लागेको छैन ।
प्राधिकरणका प्रवक्ता एरिक अपोलोनियोले पाइलटहरूले दिएको विवरण घटनाको अनुसन्धानमा समावेश गरिने बताएका छन् ।
अवतरणपछि यात्रु तथा चालकदलका सदस्यलाई विमानस्थलको टर्मिनलमा लगेर आवश्यक सहायता र होटलको व्यवस्था गरिएको थियो ।
विमानमा क्षति पुगेको तत्काल विवरण प्राप्त भएको छैन ।
घटनापछि सुरक्षा जाँचका लागि डाभाओ विमानस्थल केही समय बन्द गरिएको थियो ।
यसबाट दुईवटा आन्तरिक उडान रद्द भए पनि मुख्य धावनमार्गको जाँच पूरा भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।






















