images
images
  • होर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

    काठमाडौं– इरान युद्धले होर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासागरसम्बन्धी संरक्षकसमेत रहनुभएका ५६ वर्षीय पुघले पौडीका क्रममा नजिकै तेल ट्याङ्करमा आक्रमण हुँदा विस्फोट भएको देखे ।

    उनका अनुसार जहाजमा भएको आक्रमण र त्यसबाट फैलिने तेल तथा रासायनिक प्रदूषणले समुद्री जीव, मुगा चट्टान र म्यान्ग्रोभ वनलाई दीर्घकालीन जोखिममा पार्न सक्छ ।

    उनले युद्धअघि ओमानी तटमा पौडी खेल्दा देखेका सयौँ समुद्री कछुवा तथा यसपटक डल्फिन र ओस्प्रे चराहरूको उपस्थितिले यस क्षेत्रको प्राकृतिक महत्त्व स्मरण गराएको बताए ।

    तेल प्रदूषण सफा गर्न कठिन हुने र यसको असर पुस्तौँसम्म रहन सक्ने उनको भनाइ छ ।

    युद्धका क्रममा दर्जनौँ ट्याङ्कर क्षतिग्रस्त भएका छन् ।

    इरानले जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयासस्वरूप जहाजमाथि आक्रमण बढाएको छ ।

    युद्धअघि विश्वको कुल तेल कारोबारको करिब पाँचौँ भाग होर्मुज जलघाँटी हुँदै ओहोरदोहोर हुने गरेको थियो ।

    समुद्री वातावरण संरक्षणका लागि चार दशकदेखि सक्रिय पुघले उत्तरी ध्रुव, अन्टार्कटिका र विश्वका विभिन्न समुद्री क्षेत्रमा पौडी खेलेर वातावरणीय मुद्दामा ध्यान आकर्षित गर्दै आएका छन् ।

    उनले युद्ध रोक्न, हर्मुज जलघाँटी खुला राख्न र प्रदूषण सफा गर्नुपर्ने सन्देश दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images