
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको भन्दै सक्रिय राजनीतिमा फर्किन नसक्ने तर्क गरेका छन् ।
नेकपा (एमाले) पोलिटब्युरो बैठकमा उनले पार्टी विधानको धारा ८ देखाउँदै भण्डारीले स्वेच्छाले सदस्यता परित्याग गरेकाले अब पुनः सुरुदेखि प्रक्रिया पूरा गर्नुपर्ने बताए ।
तर, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र सचिव माधव ढुंगेलले भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भइसकेको दाबी गरेका थिए ।
भण्डारी स्वयंले पनि गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
बैठकमा उपाध्यक्ष युवराज ज्ञवालीले विधानको धारा ९ को व्यवस्था देखाउँदै भण्डारीले दल त्याग नगरेको बरु पार्टीकै निर्णयमा राष्ट्रपति बनेको उल्लेख गरे ।
यसअघि पनि पार्टीले खटाएका नेताहरू सुवास नेम्वाङ, गणेश तिमिल्सिना र शिवमाया तुम्बाहाङ्फेको सदस्यता नवीकरणमा कुनै समस्या नआएको उदाहरण दिँदै ज्ञवालीले ओलीको तर्क अमिल्दो भएको बताए ।
बैठकमा ओली पक्षका नेताहरूले भण्डारीको पुनरागमन अस्वीकार्य भन्दै उमेर सीमा र कार्यकाल सीमित गर्ने प्रस्तावमा समर्थन जनाए ।
अर्कातर्फ केही नेताहरूले यथाशीघ्र निर्णय गरी पार्टीभित्रको ध्रुवीकरण रोक्न सुझाव दिए ।
अन्ततः विषय केन्द्रीय कमिटीमा पुनः छलफल हुने निष्कर्ष निकालिएको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस्