धरान -आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया अनिश्चित बनेको छ।
नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको राजनीतिक असमझदारीले नगरको बजेट निर्माणमा गतिरोध उत्पन्न भएको हो। अहिलेसम्म बजेट सीमा निर्धारण समितिको बैठक आठ पटक बसेपनि कुनै ठोस सहमति बन्न सकेको छैन।
“भोलि नवौं बैठक, सहमति जुटे मात्रै प्रक्रिया अघि बढ्ने”
उपप्रमुख बेघाका अनुसार राजस्व परामर्श समितिले धरानको बजेट सीमा २ अर्ब रुपैयाँ तोकेको छ। सोही सीमाभित्र रहेर बजेट निर्माणका लागि सहमति खोज्ने प्रयास भइरहेको छ। “हामी सबैको कमजोरीका कारण अहिलेसम्म सहमति हुन सकेको छैन,” उनले भने, “भोलि (आइतबार) नवौं बैठक बस्दैछ, सहमति जुटे प्रक्रिया अघि बढ्छ।”
बजेट निर्माणमा ढिलाइ भएपनि नगर कार्यपालिकाको असार २५ गते बसेको बैठकले करार तथा ज्यालादारी कर्मचारीको नियुक्ति नवीकरण गर्ने निर्णय गरिसकेको छ। यद्यपि उनीहरूको तलब भुक्तानी बजेट पारित भएपछि मात्रै गर्न सकिने जनाइएको छ।
बजेट अभावका कारण नगरपालिकामा अतिआवश्यक सेवा तथा खर्चहरू प्रभावित भएका छन्। साथै, राजस्व संकलन कार्यसमेत ठप्प प्रायः भएको उपप्रमुख बेघाले जानकारी दिए।
सहरी सेवा प्रवाहमा अवरोध नहोस् भन्नका लागि धरान उपमहानगरले राजनीतिक मतभेदभन्दा माथि उठेर शीघ्र सहमति बनाउने वातावरण सिर्जना गर्न आवश्यक देखिन्छ।























