काठमाडौं– नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा दुई चर्चित नाम हुन्– माधवकुमार नेपाल र वामदेव गौतम ।
एउटै पार्टी (नेकपा एमाले) भित्र लामो समयसँगै राजनैतिक यात्रामा सहभागी यी दुई नेताबीच समय समयमा उत्पन्न भएको वैचारिक र सांगठानिक मतभेदले न केवल पार्टीको स्वरूप बदल्यो ।
तर, देशको राजनीतिक गतिशीलतालाई समेत प्रभाव पारेको छ ।
विसं. २०५३/०५४ तिर भारतसँग भएको महाकाली सन्धिको विषयमा एमालेभित्र ठूलो विवाद उत्पन्न भयो ।
तत्कालीन महासचिव माधवकुमार नेपालले यो सन्धिलाई नेपालको हितमा मान्दै समर्थन गरे भने उपमहासचिव वामदेव गौतम त्यसको कडा विरोधमा उभिए ।
गौतमको भनाइ थियो, ‘महाकाली सन्धिले नेपालको जलस्रोत स्वाधीनतामा सम्झौता गरेको छ ।
तर, केपी शर्मा ओली र नेपाल नेतृत्वको समूहले यो सन्धिलाई नेपालको ‘रणनीतिक आवश्यकता’ भन्दै संसद्मा समर्थन गरेका थिए ।
यसै मुद्दालाई लिएर पार्टीभित्र ध्रुवीकरण भयो ।
गौतम पक्षले पार्टी फुटाएर नयाँ कम्युनिष्ट संगठन ‘नेकपा माले’ गठन गर्यो ।
यो माधव–वामदेवबीचको पहिलो सार्वजनिक र संस्थागत स्तरको विवाद हो ।
जसले लामो समय पार्टीको एकतालाई अस्थिर बनायो ।
महाकाली सन्धिपछि गौतम एमालेमै फर्किए पनि नेतृत्वमा कहिल्यै सन्तुष्टि पाएनन् ।
महासचिव नेपालले आफ्नो शैलीमा पार्टी चलाउँदा गौतम समर्थकहरूले उनलाई ‘एकलौटी’, ‘पद्धतिविहीन’ र ‘पदीय असमानता’ को आरोप लगाउँदै आएका थिए ।
२०५९ सालको पार्टी महाधिवेशनपछि वामदेव गौतम ‘वरिष्ठ नेता’ पदमा पुग्न खोजे ।
तर, माधव नेपालले पार्टीमा त्यो पद सिर्जना गर्न रुचाएनन् ।
त्यसपछि पनि गौतमले नेतृत्व हस्तान्तरणको मुद्दा उठाउँदै आएका थिए ।
केही बखत उनले माधव नेपालकै विरुद्ध पार्टीभित्र समूहगत छलफल थालेका थिए, जुन प्रयास सफल भएन ।
२०८१ सालमा वामदेव गौतमले ‘राष्ट्रिय एकता अभियान’ नामक संस्थालाई दलमा परिणत गर्ने संकेत दिए ।
उनले देशमा सशक्त वैकल्पिक वाम धारको आवश्यकता रहेको बताउँदै नेपालसँग निकटता बढाए ।
एकीकृत समाजवादी अध्यक्ष नेपाल र गौतमबीच वाम शक्तिहरू एकीकृत गर्ने सहमति भएको समाचार बाहिर आयो ।
समाजवादी पार्टीले गौतमलाई केन्द्रीय सदस्य मात्र नभई कार्यकारी वरिष्ठ नेता बनाउन चाहेको थियो ।
तर, पार्टी एकताका क्रममा ठूला विवाद पुनः सतहमा आए ।
वामदेवले कार्यकारी वरिष्ठ नेता बन्ने प्रस्ताव राखे, जुन माधव नेपाललाई अस्वीकार्य लाग्यो ।
वामदेवले आफ्ना चारजना नेताहरूसहित प्रवेश गर्न चाहन्थे ।
तर, समाजवादीले तीन जनाभन्दा बढी स्वीकार गर्न सक्दैन भने ।
वामदेव अझै एमालेसँग निकट रहेको र सत्तासँग सम्झौता खोज्ने भन्ने शंका समाजवादी नेतृत्वभित्र व्याप्त थियो ।
यसरी केही हप्ता चलेको छलफल, सहमति र आशावाद पुनः अविश्वास, नेतृत्व विवाद र सर्तहरूमा अल्झिएर टुंगियो ।
वर्तमानमा दुवै नेताबीच आज औपचारिक पार्टी एकता भएको छ ।
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा गरिएको छ ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा वामदेव गौतम र माधव नेपालले पार्टी एकता सफल भएको घोषणा गरे ।
चार वर्षदेखि प्रयासरत एकता अन्ततः सफल भएपछि गौतम निकै भावुक देखिए ।
कार्यक्रममै गौतमले अध्यक्ष नेपाल, नेता खनाल र महासचिव भूसालसँग अंकमाल गर्दै खुशी साटे ।
गौतमलाई एकीकृत समाजवादीमा वरिष्ठ नेताको जिम्मेवारी दिने तय भएको छ ।






















