images
images
  • कांग्रेस, एमाले इतरपक्ष र माओवादी मिलेर राष्ट्रिय सहमतिको सरकार गठनको तयारी : प्रचण्ड–शेखर आलोपालो प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आलोपालो सत्ता साझेदारीलाई ‘काउन्टर’ दिने गरी नयाँ वाम–लोकतान्त्रिक समीकरण बनाउने प्रयास तीव्र बनेको छ ।

    यो समीकरणले सरकारको विफलता उजागर गर्ने र आवश्यक परे आन्दोलन गर्ने रणनीति बनाएको स्रोतको दाबी छ । तर, मूल उद्देश्य देउवा–ओली गठबन्धन भत्काएर नयाँ सरकार बनाउने नै हो ।

    स्रोतअनुसार कांग्रेस नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर पूर्वराष्ट्रपति विद्या भण्डारी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) अध्यक्ष माधव नेपालसहितको नयाँ ध्रुव तयार हुँदैछ ।

    शेखरले प्रचण्ड र विद्यासँग छुट्टाछुट्टै एक घण्टाका लामो भेटवार्ता गरिसकेका छन् । यी छलफलमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी रहेको बताइएको छ ।

    सरकार गठनमा असन्तुष्ट शेखर पक्षले दुई वर्षअघि कोशी प्रदेशमा पनि यस्तै समीकरणमार्फत केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो ।

    नयाँ समीकरणमा हालै समर्थन फिर्ता गरेको जसपा, रास्वपा र लोसपालगायत मधेश केन्द्रित दलहरूको समेत सहभागिता रहने बताइएको छ ।

    सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमाले सचिवालयले निषेध गर्ने निर्णय गरेपछि समीकरणको प्रयास अझ तीव्र भएको हो ।

    यता, सरकारको कार्यशैलीप्रति कांग्रेस र एमालेभित्रै असन्तुष्टि बढेको र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने संकेत नेताहरूले गरेका छन् ।

    प्रचण्डले संसद्मा सरकारमाथि आक्रामक भाषण गर्दै ओलीलाई भ्रष्टाचारका आरोप लगाइसकेका छन् । ओली–देउवाबीचको ७ बुँदे सहमतिले बनेको सरकारले एक वर्ष पूरा गरिसकेको छ भने अर्को वर्ष देउवालाई प्रधानमन्त्री बनाउने सहमति छ ।

    तर, नयाँ समीकरण निर्माणका लागि नेताहरूबीच बहुपक्षीय छलफल जारी छ । कुनै पनि नेता समीकरणबाट पछि नहट्ने अडानमा रहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images