images
images
  • बाँचुञ्जेल ओलीको हातमा एमाले, विद्यालाई विधानमै चुनौती

    काठमाडौं– नेकपा (एमाले)को सचिवालय बैठकले पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमालाई हटाउने निर्णय गरेको छ ।

    यस निर्णयसँगै अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने बाटो खुलेको छ ।

    उपाध्यक्ष विष्णु पौडेलको प्रस्तावमा आएको संशोधनलाई बैठकले अनुमोदन गरेको हो ।

    बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले धारा ६४ अन्तर्गतको उमेर र कार्यकाल सीमा हटाइएको जानकारी दिएका थिए ।

    यद्यपि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, र सुरेन्द्र पाण्डेजस्ता नेताहरू भने यो निर्णयविरुद्ध थिए ।

    यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेशको विषय पनि सचिवालय बैठकमा उठेको छ ।

    यद्यपि जिम्मेवारीबारे कुनै टुंगो लाग्न सकेको छैन । प्रतिनिधिको निरन्तरता सम्बन्धी निर्णयले भण्डारीको विधान महाधिवेशनमा सहभागिता तत्कालका लागि रोकिएको छ ।

    अध्यक्ष ओलीले पत्रकार विजयकुमारसँगको अन्तर्वार्तामा भण्डारीले आफ्नो सल्लाहबिना सक्रिय राजनीति थालेको आरोप लगाएका छन् भने भण्डारीले भने ओलीकै परामर्शमा निर्णय लिएको दाबी गरेकी छन् ।

    त्यसैगरी, एमालेले पदाधिकारी संख्या १९ बाट घटाएर १५ र केन्द्रीय सदस्य संख्या ३०१ बाट २५१ मा झार्ने निर्णय गरेको छ ।

    जसले पार्टीभित्रको भावी शक्ति समीकरणमा प्रभाव पार्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images