काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ ।
बुधवार बसेको जसपाको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टीका प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बैठकको निर्णयबारे जानकारी दिएका छन् ।
यसअघि नै पार्टीको कार्यकारिणी समितिले सरकारबाट समर्थन फिर्ता लिने प्रारम्भिक निर्णय गरिसकेको थियो ।
तर, त्यसबीचमा जसपाका नेताहरुले प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
ती भेटमा भूमिसम्बन्धी विधेयक, सत्ता सहकार्य लगायतका विषयमा छलफल भएको थियो ।
जसपाले भूमि विधेयकका प्रावधानहरूमा असहमति जनाउँदै अडान नछाड्ने स्पष्ट पारेको थियो ।
यद्यपि ओली र देउवाले सम्वा दबाट समाधान खोज्न सकिने सुझाव दिएका थिए।
तर, पार्टीको मूल अडानमा कायम रहँदै संसदीय दलको बैठकबाट अन्ततः सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय लिएको हो ।
स्रोतका अनुसार देउवा र ओलीसँगको भेटमा जसपाले मधेस प्रदेशको नेतृत्व गर्न पाउनुपर्ने र पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई उपप्रधानसहित स्वास्थ्यमन्त्रीको माग गरेका थिए ।
उनको माग पूरा गर्न नसकिने प्रधानमन्त्रीको अडानलगत्तै यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।






















