काठमाडौं– नेकपा (एमाले) र नेपाली कांग्रेसले साउन दोस्रो साताभित्र मन्त्रीहरू हेरफेर गरेर जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् ।
३० असारमा उपेन्द्र यादव र राजकिशोर यादवसँगको छलफलपछि मन्त्रालय बाँडफाँट सरल बनाउन जसपालाई सहभागी गराउने सहमति बनेको स्रोतको दाबी छ ।
एमालेले विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र भगवती न्यौपानेबाहेकका मन्त्रीहरू फेर्ने तयारी गरेको छ ।
कांग्रेसले भने शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, र परराष्ट्रमन्त्री आरजु राणालाई निरन्तरता दिने देखिन्छ भने अन्य केही मन्त्रीहरू फेर्ने तयारी छ ।
जसपालाई सरकारमा ल्याउँदा राष्ट्रिय सभामा बहुमत सहज हुने भएकाले जनमत पार्टीको सट्टामा जसपासँग सहकार्य गर्न खोजिएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो गठबन्धन सुरक्षित राख्न जसपालाई सरकारमा ल्याउने सन्देश दिएको जसपाका एक नेताको भनाइ छ ।






















