images
images
  • राप्रपा विवाद : लिङ्देन र राणा समूहबीच चरम असन्तुष्टि, पदाधिकारीहरूलाई नै हटाउने तयारी

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चुलिँदै गएको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले आफैँले मनोनीत गरेका केही पदाधिकारीहरूलाई गुटबन्दी र पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै स्पष्टीकरण माग्ने तथा जिम्मेवारी खोस्ने तयारी गरेका छन् ।

    लिङ्देनले निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी, अनुशासन समिति पूर्वअध्यक्ष नवराज सुवेदी, पूर्वप्रवक्ता सगुनसुन्दर लावती, महामन्त्री धवल शम्शेर राणा, महामन्त्री कुन्ति शाही र केन्द्रीय सदस्य जनकराज पाठकमाथि आन्तरिक छलफल सुरु गरेका छन् ।

    केहीलाई पदमुक्त गरिसकिएको छ भने अरूमाथि स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाइएको छ ।

    पूर्वअध्यक्ष लोहनी नेतृत्वमा सुवेदी, लावती, र राणा लगायतले अध्यक्षको निर्णयलाई ‘एकलौटी र विधानविपरीत’ भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

    उनीहरूको आरोप छ कि अध्यक्षले कुनै छलफल नगरी मनोनीत पदाधिकारीहरूलाई हटाएका छन् ।

    तर, लिङ्देन पक्षले पार्टीको हितविपरीत गतिविधिमा संलग्न भएकाले कारबाही गरिएको दाबी गर्दै आएको छ ।

    नवराज सुवेदीले अघिल्लो चैतमा राप्रपा परित्यागको घोषणा गरेका थिए, तर अहिले फेरि पार्टीभित्र पदाधिकार प्राप्त गर्न खोजेको भन्दै लिङ्देन पक्षले आपत्ति जनाएको छ ।

    महामन्त्री राणा र अध्यक्ष लिङ्देनबीचको दूरी पनि विवादको मुख्य पाटो बनेको छ ।

    बिरामी अवस्थामा राणाबाट संगठन विभाग प्रमुखको जिम्मेवारी खोसिएकोप्रति उनले असहमति जनाएका थिए ।

    राणा पक्षले लिङ्देनको एकलौटीपन आलोचना गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो ।

    राप्रपाको आगामी महाधिवेशन नजिकिँदै जाँदा आन्तरिक रस्साकस्सी तीव्र हुँदै गएको छ ।

    अध्यक्ष लिङ्देनले गुटबन्दी गरी आफूविरुद्ध गतिविधि भइरहेको आरोप लगाउँदै महाधिवेशनमा हारजितको सामना गर्न तयार रहेको चुनौती दिएका छन् ।

    उनले पदाधिकारीहरूलाई पार्टीको काममा सघाउन आग्रह गर्दै आलोचकहरूलाई विधानअनुसार नै चुनौती दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images