काठमाडौं– चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भारतको प्रतिष्ठित कम्पनी रिलायन्स इन्डस्ट्रीजको नेपाल प्रवेशलाई देशका लागि गौरवको विषयको रूपमा टिप्पणी गरेका छन्।
चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रीजबीचको संयुक्त लगानीमा भारतीय कोल्ड ड्रिंक ब्राण्ड ‘क्याम्पा कोला’ को उत्पादन र वितरण नेपालमै सुरु भएपछि आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा चौधरीले भने, “हालको अवस्थामा जताततै लगानीको वातावरण असहज बन्दै गएको छ भन्ने चर्चा चलिरहेको बेला रिलायन्स जस्तो ठूला उद्योग समूहले नेपालमा प्रवेश गर्नु आर्थिक दृष्टिकोणले सकारात्मक संकेत हो। क्याम्पा कोलाको माध्यमबाट सुरु भएको यो सहकार्य भविष्यमा अन्य औद्योगिक क्षेत्रमा पनि विस्तार हुने अपेक्षा गर्न सकिन्छ।”
संयुक्त लगानीमा स्थापना भएको यस परियोजनामार्फत हाल तीन प्रकारका क्याम्पा कोला भेरियन्टहरू नेपाली बजारमा उपलब्ध गराइएको छ। चौधरीका अनुसार निकट भविष्यमा थप दुई नयाँ भेरियन्ट पनि सार्वजनिक गरिनेछ।
उनले क्याम्पा कोलाका उत्पादनहरूमा अन्य ब्रान्डको तुलनामा कम मात्रामा चिनी प्रयोग गरिएको उल्लेख गरे। साथै, एक वर्षभित्रै सुगर फ्रि ड्रिंक पनि बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
क्याम्पा कोला झण्डै ५० वर्ष पुरानो ब्राण्ड हो र अब यसले नेपालमा चौधरी ग्रुपको सहकार्यमा आफ्ना उत्पादनहरू उपभोक्तामाझ ल्याउन थालेको छ। उद्योगमैत्री लगानीको यस्तो पहलले नेपाली अर्थतन्त्रलाई थप गति दिने अपेक्षा गरिएको छ।


विश्व खबर 




















