images
images
  • ‘बलरामले पैसा खाइसक्यो’ भनेर गुप्ताले पोलेका भूमिमन्त्री भने पानीमाथिको ओभानो !

    काठमाडौं– सडक र सदनको चौतर्फी दबाबपछि घूस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अन्ततः राजीनामा दिन बाध्य भएका छन् । मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गर्न बिचौलियासँग २५ लाख रुपैयाँ घूस रकम डिल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनीमाथि राजीनामाको चर्को दबाब परेको थियो ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षण पाएका मन्त्री गुप्ताले सो प्रकरणबारे आफूलाई थाहै नभएको र एआईको दुरुपयोग गरेर अडियो बनाएको दाबी गरिरहेका छन् । सोमबार बिहानै बालुवाटार पुगेर ओलीलाई भेटेका गुप्ता साँझ बसेको मन्त्रिपरिषद् बैठकमै निर्धक्क उपस्थित थिए । न उनलाई प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिए, न पार्टीले नै । यो विषय सोमबारको क्याबिनेटमा एजेन्डासम्म बनेन । मन्त्रीको नैतिकता र प्रधानमन्त्रीको मौनतामाथि नै प्रश्न उठ्न थालेपछि पनि उनले बाध्य भएर मंगलबार राजीनामा दिएका हुन् ।

    प्रधानमन्त्री ओली गुप्ताको राजीनामा गराएर विषय सामसुम पार्ने षड्यन्त्रमा लागेको भन्दै प्रतिपक्षी दलहरूले भने उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने र दोषी देखिए हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजीनामा दिनासाथ समस्या समाधान नहुने भन्दै तत्काल पक्राउ गरेर छानबिन गर्न माग गरे ।

    भूमिमन्त्री अधिकारी पानीमाथिको ओभानो ?

    उक्त घूस डिल प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नाम पनि मुछिएको छ । अडियोमा भएको दुवै डिलमा मन्त्री अधिकारीसम्बद्ध विषय छन् । मालपोत कार्यालय उनी मातहत पर्छ । भूमि आयोगको अध्यक्ष नियुक्त गर्ने विषय पनि उनको मन्त्रालयअन्तर्गत नै पर्छ । बिचौलियाले बलरामलाई भनिदिनु भन्दा मन्त्री गुप्ताले ‘बलरामले पैसा खाइसक्यो काम गर्दैन’ भन्ने अभिव्यक्ति दिएका छन् । त्यस्तै बिचौलियाले दिएको पैसा सम्बन्धित ठाउँमा पुर्याउनुपर्छ भन्दै उनै मन्त्री अधिकारीतर्फ इंगित पनि गरेका छन् ।

    ‘तिनपाने’ सेवन गर्न यहाँ आउने गरेको भनेर उनले आफूहरूबीचको सम्बन्धको घनिष्ठता पनि उजागर गरेका छन् । यस हिसाबले उनले पनि राजीनामा दिनुपर्ने अन्यथा बर्खास्त गरेर अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ । गुप्तालाई नै राजीनामा दिन निर्देशन नदिएका प्रधानमन्त्री ओली आफ्ना प्रिय पात्र अधिकारीको विषयमा झनै मौन छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले आफू यस प्रकरणमा कतै नजोडिएको दाबी गरे पनि अडियोमा गुप्ताले ‘बलरामले पैसा खाइसक्या छ’ भनेकाले उनले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने प्रतिपक्षीको माग छ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले मन्त्री अधिकारीमाथि पनि स्वतन्त्र ढंगले छानबिन गर्नुपर्ने बताए । उनले अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरे ।

    त्यस्तै, रास्वपा सांसद शिव नेपालीले पनि मन्त्री अधिकारी पनि उक्त प्रकरणमा पोलिएका भन्दै निष्पक्ष छानबिन गर्नुपर्ने बताए । उनले राजीनामा दिएर मात्रै उन्मुक्ति नपाउने भन्दै दोषीउपर कडा कारबाही हुनुपर्ने माग राखे ।

    ओलीको नीति– विरोधीलाई किकआउट, ‘भक्त’ र ‘बलिया’लाई संरक्षण !

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका निर्णयमा आँखा चिम्लिएर समर्थन गर्ने र पार्टी र आफ्नो ‘हित’मा काम गर्ने ‘बलिया’ मन्त्रीलाई संरक्षण र विरोधमा आवाज उठाउनेलाई किकआउट गर्ने नीति लिएका छन् । आफू निकटका र आफूलाई सघाइरहेका मन्त्रीहरूको गलत हर्कतमा पनि ओलीले काँध थापेका छन् । तर, इमानपूर्वक काम गर्ने र आफ्नो इन्ट्रेस्टविपरीत अभिव्यक्ति दिनेहरू ओलीको निशानामा परिरहेका छन् ।

    शिक्षकहरूको माग र मुद्दालाई समेट्दै विद्यालय शिक्षा विधेयक पारित गराउन अहोरात्र खटिरहेकी तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले ओलीको इन्ट्रेस्टअनुसार काम गर्न नमान्दा पदबाटै बिदा लिनुप¥यो । प्रधानमन्त्री ओलीले भट्टराईलाई बर्खास्त त गरेनन्, तर काम गर्नै नसक्ने वातावरण बनाइदिएर राजीनामा दिन बाध्य बनाए ।त्यस्तै, तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई त विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु नहुने अभिव्यक्ति दिएकै आधारमा बर्खास्त नै गरे ।

    तर, भिजिट भिसामार्फत् भएको मानव तस्करीमा प्रत्यक्ष संलग्न भएको आरोप लागेका गृहमन्त्री रमेश लेखकलाई भने ओलीले काखी च्यापिरहेका छन् । प्रतिपक्षी दलहरूले संसदीय छानबिन समिति माग्दै निरन्तर सदन अवरोध गर्दा पनि न गृहमन्त्रीले नैतिकता देखाए, न प्रधानमन्त्रीले एक्सन लिन सकेका छन् । उल्टै उनलाई सुनपानी छर्किने मनसायका साथ पूर्वकर्मचारीको नेतृत्वमा टालटुले समिति बनाइएको छ । उनको बचाउ र संरक्षणमा प्रधानमन्त्री स्वंय चट्टानझैँ उभिएका छन् ।

    यस्तै, नेपालमा लोडसेडिङको विषयलाई ‘इतिहास’ बनाएका कुलमान घिसिङलाई हटाउन लागिपरेका ऊर्जामन्त्री दीपक खड्का पनि आरोपले घेरिएका मन्त्री हुन् । स्काउटको जग्गा हडपेर भाडा नतिरेको विषय सार्वजनिक हुँदा पनि प्रधानमन्त्रीले अनादेखा गरे । जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गरी ठेकेदारबीच चेक लेनदेन गराएको गम्भीर आरोप पनि उनीमाथि लागेको छ । यो विषयमा संसदीय समितिहरूमा उनीमाथि छानबिन गर्नुपर्ने माग पनि उठेको थियो । तर मन्त्री खड्काले नैतिकता देखाएनन् । कारण हो– उनै ओलीले काँध थापे ।

    ‘घूस डिल’ प्रकरण पनि ‘७० करोड’ जस्तै सामसुम बनाउने आशंका

    ओली नेतृत्वको सरकारमा घूस डिल प्रकरणको अडियो सार्वजनिक भएपछि राजीनामा दिने दोस्रो मन्त्री हुन् गुप्ता । यसअघि ओली नै प्रधानमन्त्री भएका बेला तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घूस डिल गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए । सो घटनाबारे अख्तियारले अनुसन्धान सुरु गरे पनि अझै पनि टुंगो लागेको छैन । राजीनामा दिएपछि उम्किने प्रवृत्तिले गुप्ताको हकमा पनि प्रश्रय पाउने आशंका उब्जिएको एक सांसद बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images