images
images
  • संसद् विघटनको कुराले मलाई पछ्याइरह्योः पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउने भएपछि लागेको रहेछ– संसद् विघटनको निर्णयको विषयले पछ्याइरहनेछ । मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि रहेकी भण्डारीले ०१७ र ५१ सालको संसद् विघटन समेत स्मरण गरिन् । “विगतको कुरा हो त्यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा चाहिँ जानकार नै छु, संसद् विघटनका कुरा । ०१७ सालको इतिहास आइरहन्छ । ०५१ को विघटन पनि आइरहन्छ । म राष्ट्रपति भएका बेलामा दुईपटक भएको छ । त्यो कुरा पनि आइरहन्छ,” उनले पत्रकारको प्रश्नको जवाफमा भनिन् ।

    भण्डारीले आफूले गरेको संसद् विघटनबारे छलफल गर्न समेत तयार रहेको बताइन् । “त्यसलाई मैले कुनै पनि दबाबमा भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई मैले कार्यान्वयन गरेको हो । जे व्यवस्था गरेको हो । त्यसको छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक पाटो, राजनीतिक पाटो, इतिहासका कुराहरू । देशलाई के गर्दा निकास दिनुपथ्र्यो,” उनले भनिन्, “कुन बेला के काम गर्नुपर्छ, त्यो कुरा छलफलको विषय हुनसक्छ । दबाब होइन । संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो ।”

    भण्डारी राष्ट्रपति हुँदा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०७७ पुस ५ गते र ०७८ जेठ ८ गते संसद् विघटन भएको थियो । सर्वोच्च अदालतले विघटनको निर्णय बदर गरेको थियो ।

    भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने भएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगको सम्बन्ध बिग्रिएको चर्चा छ । त्यसबारे भने उनले जवाफ दिइनन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थिति कुन रूपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले उनको हीरक (७५औं) जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ’मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ, केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो। प्रतिनिधि वा आमन्त्रित सदस्यको रूपमा, केमा बोलाउनुहुन्छ’ उनले भनिन् ।

    उक्त कार्यक्रममा फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन मूल समारोह समिति घोषणा गरिएको थियो। उक्त समितिको संयोजकमा बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार, हीरक जयन्तीका अवसरमा वर्षैभरि विभिन्न वैचारिक तथा रचनात्मक कार्यक्रमहरू गरिनेछ। ०८४ मा जन्म जयन्ती कार्यक्रमको समीक्षासहित समापन गरिनेछ । मूल आयोजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने पनि बताइएको छ। त्यस्तै सल्लाहकार समिति पनि छिटै गठन गरिने भनिएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। विद्या भण्डारी मदनकी धर्मपत्नी हुन् ।

    मदनले ल्याएको जनताको बहुदलीय जनवाद (जबज) को कार्यक्रमलाई एमालेले मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।मदनको हीरक जन्म जयन्ती कार्यक्रमका दौरान जबजकै विषयमा विभिन्न बहस, छलफल र प्रचारात्मक कार्यक्रम गर्ने तयारी छ।

    पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणासँगै मदन भण्डारी फाउन्डेसनमार्फत यो समिति गठन गरिएको हो। पूर्वराष्ट्रपतिको भण्डारीले पार्टी राजनीतिमा क्रियाशील हुने जनाउ दिएपछि पार्टीको संस्थापन पक्ष भने असन्तुष्ट छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ०७७ पुस ५ र ०७८ जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले संसद् विघटन गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images