images
images
  • झापामा दुर्गा प्रसाईंको पाँचतारे होटल ‘एट्रियम’को लागत ३.२९ अर्ब पुग्यो

    काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाको विर्तामोडमा निर्माण गरिरहेका पाँचतारे होटल ‘एट्रियम’ को हालसम्म ८९ प्रतिशत वित्तीय प्रगति भएको छ। निर्माणाधीन होटल सन् २०१६ मा सुरु गरिएको हो र २०८३ साल असारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

    पहिले यही असारभित्र निर्माण सक्ने लक्ष्य राखिएको भए पनि कार्य प्रगति ढिलो भई एक वर्षले समय धकेलिएको हो। यससँगै लागत पनि वृद्धि भई हाल ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन सुरुमा अनुमान गरिएको २ अर्ब ८४ करोड ३० लाख रुपैयाँभन्दा करिब ४५ करोडले बढी हो।

    कोठा संख्या र पूर्वाधार विस्तारले लागत बढायो
    प्रारम्भिक योजना अनुसार होटलमा ९६ वटा कोठा निर्माण गर्ने तयारी थियो तर पछिल्लाे समायोजनपछि २ कोठा थपिएर ९८ पुगेको छ। साथै, बैंक्वेट हल र क्यासिनोको आकार विस्तार, निर्माण ढिलाइबाट उत्पन्न ब्याज लागत आदिका कारण कुल लागतमा उल्लेख्य वृद्धि भएको बताइएको छ।

    ऋण–इक्विटी संयोजनमा अगाडि बढ्दै
    कुल लगानीमा ७१ प्रतिशत ऋण र २९ प्रतिशत स्वपुँजी (इक्विटी) रहनेछ।
    अहिलेसम्म १ अर्ब ९९ करोड रुपैयाँ ऋणको व्यवस्थापन भइसकेको छ भने बाँकी रकम जुटाउने प्रक्रिया जारी छ। होटलले २ अर्ब रुपैयाँको ऋणको रेटिङ पनि गराएको छ।

    पाँचतारे सेवा र पूर्वाञ्चलको प्रिमियम गन्तव्य
    १६ हजार ८४३ वर्गमिटर क्षेत्रफलमा फैलिने होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा, बैंक्वेट हल, कन्फरेन्स हल, क्यासिनो लगायत अत्याधुनिक सुविधा उपलब्ध हुनेछन्।
    होटल चन्द्रगढी विमानस्थलबाट १३ किलोमिटर, नेपाल–भारत सिमाना जोगवनीबाट ३० किलोमिटर, इलामको चिया बगानबाट ५७ किलोमिटर, र पाथीभरा मन्दिरबाट ९८ किलोमिटर टाढा छ।

    प्रसाईं हाल थुनामा
    होटलका अध्यक्ष दुर्गा प्रसाईं झापामा बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्दै आएका छन्। तर, उनी गत चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images