images
images
  • हुन्डाईका गाडीमा पटक–पटक आगलागी : उपभोक्ताको माग र विक्रीमा भारी गिरावट

    काठमाडौं– शनिबार काठमाडौंको भीमढुंगामा हुन्डाई क्रेटा ब्रान्डको एउटा निजी सवारीसाधनमा आकस्मिक रूपमा आगलागी भएको । बा.प्र. ०१–०३१ च ०९६६ नम्बरको उक्त गाडी सुरेश श्रेष्ठको स्वामित्वमा रहेको थियो । प्रहरीका अनुसार बिहान करिब १०ः५० बजे खड्का मोडस्थित सडकमा गाडीमा अचानक आगो लागेको हो ।

    धादिङको गल्छीबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीमा चालकसहित दुई जना यात्रु सवार थिए । समयमै गाडीबाट बाहिरिन सफल भएकाले दुवैजना सुरक्षित रहेका छन् । तर, आगलागीले गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण ‘सर्ट सर्किट’ हुन सक्ने अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टललाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।

    भीमढुंगाको घटनाभन्दा अघिपनि हुन्डाईका गाडीमा यस्तै प्रकारका आगलागीका घटनाहरू नेपालका विभिन्न स्थानमा दोहोरिएका छन् । २०७९ सालको भदौ १२ गते पोखराको गण्डकी मेडिकल कलेज नजिकै पार्किङमा राखिएको हुन्डाई ग्रान्ड आइ १० मा अचानक आगो लागेको थियो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले आगलागीको स्पष्ट बाह्य कारण नदेखिएको बताएको थियो । घटनामा मानवीय क्षति नभए पनि गाडी पूर्ण रूपमा नष्ट भएको थियो । गाडी धनीले तत्कालीक रूपमा स्थानीय शोरूममा जानकारी गराउँदा अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।

    यस्तै, गत वर्ष वैशाख ३ गते बिर्तामोडको व्यस्त सडकमा हुन्डाई भेन्यू गाडीमा पनि आगलागी भएको थियो । चालक समयमै गाडीबाट निस्कन सफल भए पनि गाडी पूर्णरूपमा जलेर नष्ट भएको थियो । यस्ता घटनापछि बीमा कम्पनीले ‘टोटल लस’ घोषणा गरे पनि गाडीधनीले प्रायः गाडी मूल्यको ८० प्रतिशतभन्दा बढी पाउँदैनन् ।

    विभिन्न प्रान्तहरूबाट आएका यस्ता घटनाहरूले गम्भीर प्राविधिक कमजोरीतर्फ संकेत गरिरहेका छन् । प्रहरी तथा अटोमोबाइल विज्ञहरूको अनुसार, पेट्रोल भेरियन्ट भएका गाडीमा इलेक्ट्रिकल प्रणालीसम्बन्धी कमजोरी (जस्तै, तारको इन्सुलेसन, इलेक्ट्रोनिक कन्ट्रोल युनिट आदिमा दोष) नै आगलागीको सम्भावित कारण हुन सक्छ ।

    केही प्रयोगकर्ताले आफ्नो गाडीको एयर कन्डिसन प्रणाली, इन्फोटेन्मेन्ट स्क्रिन, ब्लुटुथ तथा एन्ड्रोइड अटो जस्ता प्रणालीमा समेत समस्या देखिएको बताएका छन् । त्यस्तै, गाडी चलाउँदा ड्यासबोर्ड वा ट्रिम भागबाट आवाज आउने, अफरोड प्रयोग गर्दा सस्पेन्सनबाट आवाज आउने जस्ता समस्या पनि सुनिएका छन् ।

    लक्ष्मी इन्टरकन्टिनेन्टलमार्फत नेपालमै एसेम्बल गरिएका गाडीहरूमा समेत यस्ता समस्याहरू देखिएको उपभोक्ताहरूको भनाइ छ । केही प्रयोगकर्ताले गुनासो गर्दा पनि आवश्यक सेवासुविधा पाउन नसकेको अनुभव सुनाएका छन् ।

    हुन्डाईको क्रेटा मोडलसँग सम्बन्धित यस्ता समस्याहरू नेपालमा मात्र होइन, भारतमा पनि देखिएको छ । भारतको बेंगलुरुमा गत वर्ष अक्टोबरमा क्रेटा गाडीको इन्जिनमा आगो लागेको थियो । त्यसैगरी, यसै वर्ष जुलाई ३ मा पुणेको कात्रज टनेल नजिकै क्रेटा गाडीमा पुनः आगलागी भएको थियो । दुवै घटनामा मानवीय क्षति नभएको भए पनि गाडी पूर्णरूपमा नष्ट भएका थिए ।

    भारतमा यी घटनापछि कम्पनीले १.५ लिटर पेट्रोल इन्जिन भएका क्रेटा र भर्ना गाडीहरू स्वेच्छिक रूपमा फिर्ता गर्न थालेको छ । तर, नेपालमा भने अहिलेसम्म कुनै फिर्ता प्रक्रिया सुरु गरिएको छैन ।

    हालै भारतमा हुन्डाई क्रेटा गाडी ६० सेकेन्डमै चोरी भएको भिडियो सार्वजनिक भएपछि कम्पनीको सुरक्षा प्रणालीमाथि समेत प्रश्न उठेको छ । नेपाली बजारमा भने यस्ता घटनाहरू औपचारिक रूपमा रिपोर्ट भएका छैनन् ।

    त्यसो भए पनि, नेपालमा गाडी धनीहरूमाथि विभिन्न माध्यमबाट सार्वजनिक रूपमा प्रतिक्रिया नदिन दवाव दिएको भन्ने आरोपहरू पनि समय–समयमा उठ्दै आएका छन् । गाडीधनीहरूका अनुसार कम्पनीका प्रतिनिधिले समस्या उठाउने उपभोक्तालाई मौन रहन आग्रह गर्ने वा प्रलोभन देखाउने प्रयास गरेको अनुभव सुनाएका छन् ।

    नेपाली बजारमा हुन्डाईको उपस्थिति लामो समयदेखि बलियो रहँदै आएको छ । तर, पछिल्लो समय लगातार देखिएका प्राविधिक समस्या, आगलागीका घटना र सेवा प्रणालीमा देखिएको कमजोरीका कारण उपभोक्ताहरूमा विश्वास गुम्दै गएको देखिन्छ ।

    कुनै गाडी सस्तोमा बिक्रीमा राखिएको वा छोटो समयमै पुनः बिक्री गर्न खोजिएको अवस्थालाई पनि धेरै उपभोक्ताले असन्तुष्टिको संकेतका रूपमा लिएका छन् । हाम्रोबजारजस्ता अनलाइन प्लेटफर्महरूमा हुन्डाईका हालै खरिद गरिएका गाडीहरू पुनः बिक्रीमा देखिनु त्यसको संकेत हो ।

    अटोमोबाइल क्षेत्रका विज्ञहरूका अनुसार यस्ता समस्याहरू गम्भीर अनुसन्धान र समुचित समाधान माग गर्छन् । उपभोक्ताको सुरक्षासँग प्रत्यक्ष जोडिएका विषयहरूमा कार निर्माता कम्पनी तथा आधिकारिक वितरकले स्पष्ट नीति र प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता रहेको विज्ञहरूको सुझाव छ ।

    नेपालस्थित लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसम्म सार्वजनिक रूपमै विस्तृत प्रतिक्रिया दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images