images
images
  • एमाले फुट उन्मुख, विद्या क्याम्पका नेतामाथि ओलीको सत्तोसराप

    काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू बिना एमाले र एमाले बिना देशको कल्पना गर्नेहरूको सपना कहिल्यै पूरा नहुने दाबी गरेका छन् ।

    आइतबार झापामा आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ओलीले एमालेभित्रै बसेर नेतृत्वको अवसर पाएका केही नेताहरूले विगतमा पार्टी विभाजन र समाप्त गर्ने षड्यन्त्र रचेको आरोप लगाए ।

    तर, ती प्रयासलाई कार्यकर्ता र जनताको समर्थनले परास्त गरी एमालेलाई फेरि राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएको उनले बताए ।

    उनले भने, ‘एमाले साना स्वार्थका लागि बनेको पार्टी होइन, यो देश निर्माणको महान लक्ष्य बोकेको दल हो ।

    यसले बलिदान र त्यागबाट राजनीतिक यात्रा तय गरेको छ ।’ उनले पार्टीभित्रको एकतालाई मजबुत बनाउँदै अघि बढेमा एमालेलाई कसैले हराउन नसक्ने पनि जिकिर गरे ।

    अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइरहेका षड्यन्त्रप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गर्दै भने, ‘एमालेविरुद्ध जाल बुन्नेहरू कहिल्यै सफल हुँदैनन् । माकुराको जालोमा भैंसी पर्दैन । हामीविरुद्ध फैलाइएका भ्रमपूर्ण प्रचारमा नलागौँ ।’

    भ्रष्टाचारबारे बोल्दै उनले आफू र एमालेले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गरे। उनले तिखो व्यंग्य गर्दै भने, ‘हामी त सहकारी ठगेर मुद्दा खेप्ने अनि आफ्नो पक्षमा हस्ताक्षर संकलन गर्ने रास्वपाजस्तो होइनौँ ।’

    ओलीले आफ्नो कार्यकालमा देशमा विकासका थुप्रै ठूला योजना सुरु भएको उल्लेख गरे ।

    फलामखानी तथा पेट्रोलियम उत्खनन, सुरुङमार्ग निर्माण लगायतका काम सुरुआत भएको र त्यसका प्रतिफल देखिन थालेको उनको भनाइ थियो ।

    नेपालको अन्तर्राष्ट्रिय छवि सुध्रिएको दाबी गर्दै उनले हालै सम्पन्न स्पेन भ्रमणको सफलता विपक्षीहरूले स्वीकार्न नसकेको टिप्पणी गरे ।

    उनले आरोप लगाए कि विपक्षीले भ्रम फैलाउन वाईसीएल प्रयोग गरी स्पेनमा मान्छे छाडेर आएको जस्ता झूटा प्रचार गरेका छन् ।

    अन्त्यमा ओलीले एमालेप्रति कुनै भ्रम नराख्न र स्पष्ट विचारसहित पार्टी नीतिको पक्षमा दृढतापूर्वक लाग्न कार्यकर्तालाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images