images
images
  • रसुवा भोटेकोशी बाढी : ११ जनाको शव फेला, १७ अझैँ बेपत्ता

    काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ११ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार शवहरूमध्ये केही पूरा नभई केवल मानव अंग मात्र भेटिएका छन् ।

    १७ जना अझैँ बेपत्ता छन् । आइतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा जानकारी दिँदै भट्टले भने, ‘अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । अझै १७ जना बेपत्ता छन्, एक जना घाइते छन् ।’

    उद्धारका लागि हालसम्म १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये स्थलमार्गबाट ७ सय ४९ जना र हवाईमार्गबाट २ सय जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।

    बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति भएको छ । प्राधिकरणका अनुसार बाढीले २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, र ६ वटा सवारीसाधन बगाएको छ । दुई वटा पुलमा आंशिक क्षति पुगेको छ भने तीन वटा जलविद्युत आयोजनामध्ये रसुवागढी हाइड्रोपावरमा सबैभन्दा धेरै क्षति भएको जनाइएको छ ।

    त्यस्तै, स्याफ्रुबेसीदेखि टिमुरेसम्मको १६ किलोमिटर सडक खण्ड धेरै ठाउँमा भत्किएको छ । भट्टका अनुसार करिब १ हजार २ सय मिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बनेको छ ।

    पुल बगाएसँगै रसुवा—चीन नाका पूर्ण रूपमा बन्द गरिएको छ । उद्धार कार्य जारी रहे पनि कठिन भू–परिवेश र अविरल वर्षाका कारण चुनौती थपिएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images