images
images
  • उत्तर कोरियाद्वारा युक्रेनविरुद्धको युद्धमा रुसलाई विनासर्त सहयोग, के गर्लान् ट्रम्प ?

    काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेन युद्धमा रुसलाई बिना सर्त समर्थन जनाएका छन् ।

    उत्तर कोरियामा शनिबार भएको भेटवार्तामा किमले रुसी विदेशमन्त्री सर्गेई लभरोभसँग युक्रेनी संकट समाधानका लागि रुसी नेतृत्वले चालेका सबै कदममा समर्थन रहेको बताएका हुन् ।

    बीबीसीका अनुसार किमले रुसको सेना र जनताले ‘देशको सम्मान र आधारभूत हितको रक्षा गर्ने पवित्र उद्देश्यमा’ विजय प्राप्त गर्नेमा आफू ढुक्क रहेको बताए ।

    रुसी विदेश मन्त्रालयले दुई नेताबीचको अँगालो हालेर गरिएको अभिवादनको भिडियो टेलिग्राममा सार्वजनिक गरेको छ ।

    वार्ता ‘न्यानो र विश्वासपूर्ण वातावरण’ मा भएको उत्तर कोरियाली सरकारी सञ्चार संस्था केसीएनएले जनाएको छ ।

    यसअघि पश्चिमी मुलुकका अधिकारीहरूले उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न करिब ११ हजार सैनिक पठाएको दाबी गर्दै आएका छन् ।

    उत्तर कोरियाले पहिलोपल्ट गत अप्रिलमा रुसमा सैनिक पठाएको पुष्टि गरेको थियो ।

    साथै, मस्कोका सुरक्षा अधिकारीले युद्धबाट ध्वस्त भएको कुस्र्क क्षेत्रको पुनर्निर्माणमा उत्तर कोरियाले हजारौं कामदार पठाउने वाचा गरेको पनि खुलाएका छन् ।

    किम र पुटिनबीच गत वर्ष भएको सम्झौताअनुसार दुवै मुलुकले आक्रमणको अवस्थामा एकअर्कालाई सहयोग गर्ने सहमति गरेका थिए ।

    यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता पुनः सुरु गरेको जानकारी दिएका छन् ।

    उनले नेटोमार्फत युक्रेनमा प्याट्रियट हवाई रक्षा प्रणाली पठाउने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images