काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोग पुगेका छन् ।
उनी आज (आइतबार) बिहान कार्यालय समयमा आफ्नो समूह लिएर आयोगमा पुगेका हुन् ।
असार ३ गते सुवेदीलाई अनुशासन समितिले अध्यक्ष पदबाट हटाएको थियो ।
उनलाई हटाएसँगै समितिको रिक्त पदमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरिएको थियो ।
सुवेदीले भने आफूलाई अनुशासन समितिको अध्यक्ष पदबाट जानकारी नदिएर हटाइएको भन्दै आयोगमा उजुरी दर्ता गराएका छन् ।
नवराजसँगै राप्रपाका महामन्त्री डा.धवलशमशेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।
राप्रपाबाट आफू अलग नभएको दाबी गर्दै समितिको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी गर्न पुगेका हुन् ।
उनले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनको आयोजना गरेर आफूले राप्रपाको साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका थिए ।
उनले सदस्यता त्यागेको घोषणा गरे पनि राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।
योसँगै राप्रपामा बिग्रहको अध्याय सुरु भएको छ । विगतदेखि टुटफुटबाट अछुतो नरहेको राप्रपा यसपटक पनि फुट्न सक्ने आकलन गरिएको छ ।























