काठमाडौं– नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीविरुद्ध काम गरेको भन्दै १८ जना नेता–कार्यकर्तामाथि कारबाही गरेपछि पार्टीभित्र किचलो चुलिएको छ ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार ६ जनालाई पार्टीबाट निस्कासन र १२ जनालाई निलम्बनको निर्णय सार्वजनिक गरेपछि विवाद बढेको हो ।
समितिले असार ९ देखि १७ गतेसम्मको बैठकमा निर्वाचनमा पार्टी हितविपरीत क्रियाकलाप गरेको ठहर गर्दै कारबाही गरेको दाबी गरिएको छ ।
तर, उपसभापति धनराज गुरुङले शीर्ष नेताहरूबीच अनुशासन समितिमा उजुरी नचलाउने समझदारी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेता शेखर कोइरालाले बिहीबार बालुवाटारमा निकट नेताहरूको बैठक बोलाइ कारबाहीको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
बैठकले कारबाहीलाई एकतर्फी र प्रतिशोधपूर्ण ठहर गर्दै राजनीतिक रूपमा विरोध गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउने प्रतिवद्धता जनाएको छ ।
नेता–कार्यकर्तामाथिको कारबाही र शेखर पक्षको प्रतिवादले पार्टी सभापति शेरबहादुर देउवाको टाइको दुखाइ बनेको छ ।























