काठमाडौं– बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविरामका लागि मस्कोविरुद्ध थप दबाब सिर्जना गर्न आह्वान गरेका छन् ।
बेलायतबाट तथाकथित ‘इच्छुक गठबन्धन’को भिडियो कन्फरेन्स बैठकको सह–अध्यक्षता गर्दै दुवै नेताले युक्रेनका लागि युद्धविरामपछिको शान्ति सेनाको योजना तयार रहेको पनि बताएका छन् ।
स्टार्मरले भने, “हामीले शान्तिको तयारीका लागि आफ्नो कामलाई परिवर्तन गर्नु पर्छ, पुटिनलाई वार्ताको टेबलमा बस्न दवाव दिएर यो सम्भव बनाउनुपर्छ । यो समन्वित दबाबले फरक पार्नेछ ।“
म्याक्रोँले मित्र राष्ट्रहरूलाई “रूसमाथि दबाब बढाउन’ आह्वान गर्दै भने, “रूसमाथि दवाब बढाउनका लागि हामीलाई स्पष्ट रूपमा केही नयाँ उपाय आवश्यक भएको छ ।“ उनले भने, “रुसी अर्थतन्त्रमा रहेको दबाबलाई परिमार्जन गर्न सक्ने नयाँ उपायको खाँचो देखिएको छ ।”
नेटोले कमाण्ड सेन्टरको रुपमा प्रयोग गर्दै आएको उत्तर पश्चिम लण्डनको नर्थवुडमा रहेको बेलायती सैन्य अखडाबाट यी दुई नेताले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, अमेरिकी सिनेटरलिण्डसे ग्राहम र रिचार्ड ब्लुमेन्थलले रोमबाट बैठकमा सहभागिता जनाएका थिए ।
आफ्नो टिप्पणीमा जेलेन्स्कीले भने, “मस्कोमाथि नयाँ प्रतिबन्ध आवश्यक छ । यो सबै साझेदारहरूलाई स्पष्ट छ कि रूसले सबै शान्ति प्रयासहरू अवरुद्ध गरिरहेको छ ।”
योजनाबद्ध शान्ति सेनाबारे छलफल गर्दै म्याक्रोँले भने, “हामीसँग युद्धविरामको केही घण्टापछि जान र सुरु गर्नेगरी एउटा योजना तयारी अवस्थामा छ । योजनाबारे थप्दै स्टार्मरले भने, “यी योजनाहरू परिपक्व छन् र हामी तिनीहरूलाई दीर्घकालीन स्तरमा राख्दैछौं ।”


विश्व खबर 


















