
आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक क्रिकेटमा पाँच बलमा लगातार पाँच विकेट लिने पहिलो पुरुष बलर बनेर इतिहास बनाएका छन्।
उनले इन्टर-प्रोभिन्सियल टी-२० ट्रफी अन्तर्गत नर्थ-वेस्ट वारियर्सविरुद्ध मन्स्टर रेड्सका लागि यो कीर्तिमान बनाएक हुन्।
उनले आफ्नो २.३ ओभरको स्पेलमा १६ रन खर्चेर ५ विकेट लिँदै समाप्त गरे।
मन्स्टर रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा गरी यी पाँच विकेट लिएका थिए। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स उनको यो प्रदर्शनसँगै ८७ रनमा ५ विकेटको स्थितिबाट ८८ रनमा अलआउट हुन पुगेको थियो।
उनको विकेटको सिलसिला १२औं ओभरको पाँचौं बलबाट सुरु भयो, जब उनले जेरेड विल्सनलाई उत्कृष्ट इनस्विङ्गर बलमा बोल्ड गरे। त्यसपछिको बलमा उनले ग्राहम ह्युमलाई एलबीडब्लु धरापमा पारे। यससँगै उनी आफ्नो अर्को ओभरको सुरुवातमा ह्याट्रिकको अवसरमा थिए र १४औं ओभरको पहिलो बलमा एन्डी म्याकब्राइनलाई डीप मिडविकेटमा क्याच आउट गराउँदै उनले ह्याट्रिक पूरा गरे।
तर उनी यतिमै रोकिएनन्। लगत्तैको बलमा रोबी मिलर विकेटकिपरबाट क्याच आउट भए भने पाँचौं बलमा उनले जोस विल्सनलाई बोल्ड गर्दै कीर्तिमान रचे।
आफ्नो उपलब्धिबारे क्याम्फरले भने, ‘ओभर परिवर्तन भएकाले के भइरहेको छ भन्ने मलाई खासै थाहा थिएन। मैले आफ्नो योजनामा अडिग रहेर बलिङलाई एकदमै सामान्य राखें र भाग्यले साथ दियो।’
यदि अर्को ब्याटर भएको भए ६ बलमा ६ विकेट लिन सक्नुहुन्थ्यो भन्ने प्रश्नमा उनले भने, ‘होइन, मलाई त्यस्तो लाग्दैन। जे भयो, भइहाल्यो। उतारचढावलाई स्वीकार्नुपर्छ। मैदानमा फर्कन पाउँदा नै खुसी छु।’
औंलाको चोटका कारण वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाएका क्याम्फरको यो दोस्रो खेल थियो। पुनरागमनको पहिलो खेलमा उनले ५७ रन बनाए पनि बलिङ गरेका थिएनन्। बिहीबार पनि उनले पाँच विकेट लिनुअघि २४ बलमा ४४ रनको उत्कृष्ट पारी खेलेका थिए।
टी-२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा चार विकेट लिने खेलाडीको सूचीमा रहेका क्याम्फर पाँच बलमा पाँच विकेट लिने पहिलो बलर भने होइनन्। यसअघि जिम्बाब्बेकी महिला अलराउन्डर केलिस नाममा पनि पाँच बलम पाँच विकेटको कीर्तिमान थियो। उनले सन् २०२४ मा घरेलु टी-२० प्रतियोगितामा पाँच बलमा पाँच विकेट लिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्