images
images
  • ७० वर्षे उमेरहद हटाएर विद्यालाई रोक्न अर्ली महाधिवेशनको कसरतमा ओली

    काठमाडौं– औपचारिक घोषणासहित एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेतृत्वमा पुग्न नदिन अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशनको तयारी थालेका छन् । आगामी राष्ट्रिय महाधिवेशनबाट पनि अध्यक्षमा तेहरिन चाहेका ओलीले समयअगावै महाधिवेशन गरेर सो पद हत्याउन लागेका हुन् ।

    यसका लागि उनले भित्रभित्रै तयारी सुरु गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू सत्ता र शक्तिमै भएका बेला महाधिवेशन गरी आफूअनुकूल निर्णय गराउन सकिने आकलन गरेका छन् । यसका लागि ओलीपक्षीय नेताहरू पार्टीभित्र सो अनुकूलको माहोल बनाउन भन्दै भित्री रूपमा लागिपरेका छन् ।

    पार्टी विधानअनुसार हरेक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ । १०औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । सोअनुसार एमालेले२०८३ मंसिरसम्ममा गर्दा हुन्छ । तर, विद्या भण्डारी पक्षधरलाई कार्यकर्ताको तल्लो तहसम्म पुग्ने समय नदिन र पूरा तयारी गर्न समय अपुग गराउने गरी महाधिवेशन अघि सार्ने गृहकार्य भएको हो ।

    त्यसैगरी, अघिल्लो २ वर्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई छाड्ने कांग्रेस–एमालेबीच सहमति छ । सोअनुसार ओलीको कार्यकाल २०८३ असारमा सकिन्छ । विधानतः महाधिवेशन हुने हो भने सो समयमा उनी प्रधानमन्त्रीको कुर्सीबाट हटिसकेका हुनेछन् । तसर्थ शक्तिमा हुँदै महाधिवेशन गराउन सके आफू अध्यक्ष बन्न सक्ने उनको बुझाइ छ ।

    ‘अध्यक्षज्यूको चाहना पुनः दोहोरिने हो । यसका लागि अहिले पूर्वराष्ट्रपति चुनौतीका रूपमा देखापर्नुभएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘अर्ली महाधिवेशन गर्न अध्यक्षको स्वार्थ भनेको पूर्वराष्ट्रपतिलाई थप कार्यकर्तामाझ पुग्न नदिनु र सत्तामै रहेका बेलामा आफूअनुकूल पार्न सकिन्छ कि भन्ने हो ।’

    एमाले उपाध्यक्ष युवराज ज्ञवाली भने पार्टीमा अर्ली महाधिवेशनको आवश्यकता नभएको बताउँछन् । पार्टीको औपचारिक फोरमहरूमा पनि सो विषयमा छलफल नभएको भन्दै उनले कोही व्यक्तिले इच्छाएको भरमा निर्धारित समयभन्दा अगाडि महाधिवेशन हुन नसक्ने बताए । ‘अर्ली महाधिवेशन गर्नुपर्ने देशको आवश्यकता पनि होइन । पार्टीको आवश्यकता पनि होइन,’ उनले भने ।

    विधान महाधिवेशनबाटै विद्यालाई रोक्ने प्रस्ताव तयार !

    एमालेले आगामी भदौ २०–२२ मा विधान महाधिवेशन बोलाएको छ । स्रोतका अनुसार विधान महाधिवेशनलगत्तै अर्ली महाधिवेशनको मिति तय गरिनेछ । विधान महाधिवेशनले एमाले नेतृत्वमा विद्या भण्डारी जान नसक्ने गरी रोक्ने तयारी ओली पक्षको छ । पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपतिजस्ता संवैधानिक पदमा बसेका व्यक्तिलाई राजनीतिमा सक्रिय हुन नदिने गरी विधानबाटै प्रतिबन्ध लगाउने उनीहरूको तयारी छ ।

    यद्यपि भण्डारीले पार्टीको सदस्यता नवीकरण गरिसकेको अवस्थामा उनलाई कार्यकारी भूमिकामा रोक्ने गरी विधान बनाउनेतर्फ गृहकार्य बढेको बताइएको छ । विधानबाटै उनलाई रोक्न सकिए आफू एकल उम्मेदवार हुने ओलीको सपना छ ।

    स्रोतका अनुसार एमाले महासचिव शंकर पोखरेलले गत हप्ता सम्पन्न सचिवालय बैठकमै विद्यालाई रोक्ने गरी विधान बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित बहुमत सचिवालय सदस्यले सो प्रस्तावको विरोध गरेका थिए । तर, भदौमा हुने विधान महाधिवेशनमा अधिकांश प्रतिनिधि संस्थापनबाट ल्याउन सके यस्तो व्यवस्था गर्न सकिने उनीहरूको ठहर छ ।

    यता, ७० बर्से उमेर हद लगाएर अध्यक्ष ओलीलाई चाहिँ अध्यक्षको दौडबाटै हटाउने तयारी भण्डारी पक्षको छ । यसमा उनीहरूको तीव्र लबिइङ छ । एकले अर्कालाई रोक्ने छुट्टाछुट्टै तयारी भइरहँदा आगामी विधान महाधिवेशनमै खास रूपमा शक्ति परीक्षण हुने देखिएको छ ।

    एमाले उपाध्यक्ष ज्ञवाली पार्टीलाई लोकतान्त्रीकरण गर्न उमेर हद आवश्यक भएको बताउँछन् । विगतमा लामो छलफलपछि उमेर हद लगाइएको भन्दै उनले अहिले निलम्बित अवस्थामा रहेको उमेर हदको प्रावधान विधान महाधिवेशनमा पुनः ब्युँतिने विश्वास व्यक्त गरे । ‘उमेर हदको विषय आगामी विधान महाधिवेशनमा निर्णय हुन्छ । यो आवश्यक पनि छ,’ उनले भने । विधानबाट कसको राजनीतिक बाटो रोकिनेछ, सो भने प्रतीक्षाको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images