काठमाडौं– नेपाली कांग्रेसले गत आमनिर्वाचनमा अनुशासन उल्लंघन गरेको भन्दै डेढ दर्जन नेतामाथि कारबाही गरेपछि पार्टीभित्रको आन्तरिक विवाद चुलिएको छ ।
संस्थापन इतर शेखर कोइराला समूहले कारबाहीलाई पूर्वाग्रही र विधिविपरीत भन्दै आपत्ति जनाएको छ ।
आज आकस्मिक बैठक बसेर समूहले निर्णयको विरोधमा देशभर रिले अनशन गर्ने चेतावनीसमेत दिएको छ ।
नेता अजुननरसिंह केसीले कारबाही प्रक्रिया नियम विपरीत भएको दाबी गर्दै अन्याय नस्वीकार्ने बताए ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानासहित केही सदस्यले कारबाही निर्णय लिए पनि सो निर्णय विधिसम्मत नभएको कोइराला पक्षको भनाइ छ ।
समितिका सदस्य सञ्जय गौतम र राजीव कोइरालाले विमति जनाउँदै कारबाहीमा असहमति जनाएका थिए ।
बैठकमा गगन थापा अनुपस्थित रहँदा उनको भूमिका र धारणा स्पष्ट नभएको भन्दै प्रश्न उठेको थियो ।
साथै, सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सीट बाँडफाँटको सहमति भएको आशंकासमेत बैठकमा व्यक्त भएको छ ।
यही असन्तोषका कारण कोइराला समूहले छिट्टै ठूलो जनसभा गर्ने तयारी थालेको छ ।























