काठमाडौं– नेपाली कांग्रेसभित्र अनुशासनका विषयमा देखिएको विवादले शेखर कोइराला पक्षलाई सक्रिय बनाएको छ ।
पार्टीको अनुशासन आयोगले कोइराला समूहनिकट १८ जना नेता–कार्यकर्तामाथि कारबाही गरेपछि कोइरालाले आफ्ना समुहका नेताहरूसँग काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा बैठक गरेका छन् ।
बैठकमा कारबाहीको विरोधमा अब पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ ।
अनुशासन आयोगले गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका प्रदेश महामन्त्री विक्रम खनाल र खोटाङका जिल्ला सभापति विष्णुकुमार राईलाई पार्टी सदस्यबाट एक वर्षका लागि निष्कासन गरेको ।
त्यस्तै, कास्कीका पूर्वजिल्ला सभापति कृष्ण केसीलाई तीन महिनाको लागि निष्कासन गरिएको छ ।
कांग्रेसले कारबाहीको अवधि फरक–फरक राख्दै १८ जना नेतामाथि अनुशासनात्मक कारबाही गरेको हो ।
पार्टीले गत निर्वाचनमा कांग्रेस वा गठबन्धनका उम्मेदवारलाई हराउन सहयोग गरेको आरोपमा उनीहरूमाथि उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाएको थियो ।
स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नआएको भन्दै अनुशासन आयोगले निष्कासनको निर्णय गरेको जनाएको छ ।
यस घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक सत्ता संघर्ष र असन्तुष्टि पुनः सतहमा आएको देखिएको छ ।
शेखर कोइराला पक्षले यसलाई गम्भीर राजनीतिक हस्तक्षेपको रूपमा लिएको छ भने आगामी दिनमा के–कस्ता कदम चाल्ने भन्नेबारे बैठकमा निर्णय लिइने बताइएको छ ।
यद्यपि पार्टी विभाजन निकै दूर भएको शेखर पक्षका नेताहरू बताउँछन् ।























