काठमाडौं : महिला युरो कप अन्तर्गत समूह डीको खेलमा इंग्ल्यान्ड र फ्रान्स विजयी भएका छन्।
लरेन जेम्सको दुई गोलको मद्दतमा साविक विजेता इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।
यससँगै उपाधि रक्षा गर्ने अभियानमा रहेको इङ्ल्यान्डको नकआउट चरणमा पुग्ने आशा बलियो बनेको छ।
पहिलो हाफमै आक्रामक प्रदर्शन गरेको इंग्ल्यान्डले २२औं मिनेटमा जेम्सको गोलमार्फत् अग्रता लिएको थियो। ४५औं मिनेटतिर डच टिमले फ्रिकिक क्लियर गर्न नसक्दा जर्जियाले बाकसभित्रैबाट लो–सटमार्फत दोस्रो गोल थपिन्।
६० औं मिनेटमा हेम्पको क्रसमा जेम्सले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–० बनाइन्। खेलको ६७ औं मिनेटमा रूसोको पासमा एला टुनेले चौथो गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरिन्।
यसै समूहको अर्को खेलमा फ्रान्सले वेल्सलाई ४–१ ले पराजित गर्दै दुई खेलमा अपराजित रहेको छ। पहिलो खेलमा फ्रान्सले इंग्लयान्डलाई २–१ गोलले हराएको थियो।
लगातार दुई खेलमा पराजित हुँदै वेल्स प्रतियोगिताबाट बाहिरिएको छ। फ्रान्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने समान ३–३ अंक जोडेका इंग्ल्यान्ड र नेदरल्यान्ड्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
वेल्सले अंकको खाता खोल्न सकेको छैन। समूह डीमा रहेका सबै टिमले १–१ खेल खेल्न बाँकी छ।


विश्व खबर 


















