काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपा (माओवादी केन्द्र) सँग तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकालेको छ ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा केही हप्ता भएको भेटपछि विप्लव समूहले एकतामा ढिलाइको दोष माओवादीभित्रको अन्तरविरोध र प्रचण्डको अनिच्छामा देखेको हो ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार विप्लवले मोर्चा बनाएर अघि बढ्ने प्रस्ताव गरेका थिए । जसमा प्रचण्डले पनि सहमति जनाएका थिए ।
विप्लव समूहले २०८१ वैशाखमा माओवादीसँग एकताको निर्णय गरे पनि नौ महिनासम्म प्रगति नभएपछि असन्तुष्टि बढेको हो ।
माओवादी केन्द्रभित्र प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको वैचारिक मतभेद र गुटगत स्वार्थ पनि एकताको बाधक भएको नेकपाको दाबी छ ।
यद्यपि माओवादी नेताहरूले वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणको पहल जारी रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले नेकपा (विप्लव), नेकपा (एकीकृत समाजवादी) र अन्य वामपन्थी दलहरूसँग एकताको सम्भावनाबारे छलफल भइरहेको बताएका छन् ।
दुवै पार्टीले आगामी केन्द्रीय समिति बैठकमा एकताको विषयमा ठोस निर्णय गर्ने तयारी गरेका छन् ।
यद्यपि माओवादीसँग तत्काल एकता टरे पनि नेकपा महासचिव विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका कुनै पनि कम्युनिष्ट नेतृत्वसँग एकता प्रस्ताव गरेका छैनन् ।























