काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा हालैको बाढी र पहिरोले पु¥याएको क्षतिको अवलोकन गर्न मङ्गलबार बिहान त्यसतर्फ जाने भएका छन् ।
सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने कार्यक्रम रहेको छ ।
उनीहरू छुट्टाछुट्टै दुई हेलिकोप्टरमार्फत घटनास्थल पुग्नेछन् । प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासबाटै हेलिकोप्टरमार्फत प्रस्थान गर्नेछन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारी छ ।
उच्चस्तरीय निरीक्षण टोलीमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुनेछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि प्रभावित क्षेत्रमा जाने भएका छन् ।
सोमबार राति आएको बाढी तथा पहिरोका कारण रसुवामा जनधन तथा संरचनागत ठूलो क्षति भएको प्रारम्भिक विवरण आएको छ । निरीक्षणपछि तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारले थप कदम चाल्ने बताइएको छ ।
बाढीमा परेर उद्धारमा खटिएका प्रहरीसहित १८ जना बेपत्ता भएका छन् ।























