
काठमाडौं– नेपालमा मुद्रास्फीति झनै घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ ।
अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ ।
अघिल्लो वर्ष यी दुई समूहको क्रमश: ५.८५ प्रतिशत र ३.०९७ प्रतिशत मुद्रास्फीति थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.०६ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशत छ । तरकारीको ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशत रहेको तथ्यांक छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाको ९.४३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.८२, शिक्षा ५.८८, फर्निसिङ तथा घरायसी उपकरण ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशत बढेको छ । ग्रामीण क्षेत्रमा २.९० र सहरी क्षेत्रमा २.६६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८ प्रतिशत, मधेस प्रदेश २.५२, बागमती २.२९, गण्डकी १.७५, लुम्बिनी २.३९, कर्णाली २.५४ र सुदूरपश्चिमको ३.८६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत, तराई २.५८, पहाड २.४८ र हिमालमा ४.१८ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्