काठमाडौं– रसुवागढी भन्सार तथा टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा गएको बाढीका कारण सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।
तीमध्ये अधिकांश गाडी मालवाहक रहेको जनाइएको छ ।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यार्डमा करिब २३० वटा सवारी साधन पार्किङ गरिएको थियो ।
तीमध्ये केही गाडी पहिल्यै सुरक्षित स्थानमा सारिएको भए पनि ठूला संख्यामा गाडी बाढीले बगाएको अनुमान छ ।
इभी (इलेक्ट्रिक) गाडीहरू भने बाढी प्रभावित क्षेत्रभन्दा केही पर भएकाले तुलनात्मक रूपमा कम क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले पनि हाल क्षतिको विवरण संकलनकै चरणमा रहेको बताए ।
बाढीका कारण रसुवागढी भन्सार र आसपासको पूर्वाधारमा पनि ठूलो क्षति भएको आशंका गरिएको छ ।
विस्तृत विवरण प्राप्त भएपछिमात्र सम्पूर्ण असरको मूल्यांकन हुने सरकारी अधिकारीहरूले बताएका छन् ।























