काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सबैलाई अटाउने खालको समावेशी संविधान रहेको बताएका छन् ।
उनले अहिलेको राजनीतिक व्यवस्थाको विकल्प नभएको स्पष्ट गर्दै गठबन्धनको आवश्यकता अब बाध्यता बनेको उल्लेख गरे ।
जय नेपाल फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले बहुदलीय प्रतिस्पर्धा स्वाभाविक भए पनि कुनै एक दलले बहुमत ल्याउन नसक्ने वर्तमान परिस्थितिमा सरकार गठनका लागि दलहरूबीच सहकार्य अपरिहार्य भएको बताए ।
‘अहिले कसैको पनि स्पष्ट बहुमत आउँदैन, तर सरकार बनाउन त बहुमत चाहिन्छ,’ देउवाले भने, ‘त्यसैले जे–जससँग मिलेर भए पनि काम गर्नुपर्छ, नचाहेर पनि मिल्नैपर्छ । यो बाध्यता हो । काम गर्नुपर्ने चुनौती हो ।’
देउवाको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक विश्लेषकहरूले देशको सबैभन्दा ठूलो दल कांग्रेसले रूपन्देही–३ मा हुने उपनिर्वाचन र २०८४ को आमनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन गर्ने संकेत देखिएको बताएका छन् ।
उनले संसदीय व्यवस्थामा विपक्षीसँग पनि सहकार्य आवश्यक हुने उल्लेख गर्दै समावेशी र समानुपातिक आधारमा बनेको संविधानको रक्षा गर्न सबैले मिलेर लाग्नुपर्नेमा जोड दिए ।





















