images
images
  • अपराजित रहँदै नेपालले जित्यो एसिसी मेन्स यू–१६ इस्ट जोन कप

    काठमाडौँ । सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ । नेपाली टोलीले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करणमा पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो । शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका हुन् । विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे।प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए ।

    रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी १ रनमा आउट भए । छैटौँ ओभरमा शिवांश र रौनकलाई गुमाएपछि नेपाली युवा टोलीलाई दबाब परेको थियो । २५औँ ओभरमा विपिनप्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि नेपाली युवा टोलीलाई थप दबाब सिर्जना भएको थियो। त्यसअघि मलेसियाको वांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो। सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए ।

    विपिनप्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे । सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे । कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images