images
images
  • ओली–भण्डारीको फ्याक्टरले एमाले विवादित !

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)भित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उचालेर विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको बताएका छन् ।

    युरोप भ्रमणका क्रममा म्याड्रिडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलमा प्रधानमन्त्री ओलीले विद्या भण्डारीको नाममा आफ्नोविरुद्ध प्रचार भइरहेको तर भण्डारीले आफैं केही नबोलेको बताए ।

    एमाले परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै उनले आन्तरिक विषयहरू समाधान गर्न पार्टी सक्षम रहेको बताए ।

    नेपाली कांग्रेसभित्र पनि विवादहरू रहेको र त्यसको समाधान जरुरी भएको उनको भनाइ थियो ।

    ओलीले नयाँ शक्तिको नाममा देखिएका समूहले सहकारी जस्ता माध्यमबाट आर्थिक अनियमितता गरेको आरोप लगाए ।

    उनले सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रवृत्तिबाट प्रभावित नहुन प्रवासी नेपालीहरूलाई आग्रह गरे ।

    सर्वोच्च अदालतले ५२ संवैधानिक नियुक्तिलाई सदर गरेपछि उजुरी दिने प्रवृत्ति बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्तो प्रवृत्तिले विकासलाई रोक्ने खतरा रहेको बताए ।

    कानुनी प्रक्रिया जरुरी भए पनि त्यसलाई काम रोक्ने हतियारको रूपमा प्रयोग नगर्नुपर्ने धारणा उनले राखे ।

    विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिको समृद्धिमा जोडिन आह्वान गर्दै उनले सीप, पुँजी र अनुभव लिएर स्वदेश फर्किन आग्रह गरे । ‘देश तपाईंहरूको पर्खाइमा छ,’ उनले भने, ‘सरकार सहकार्यका लागि तयार छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images