images
images
  • मन्त्री चौधरीको बर्खास्तको निहुँमा संघ–प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नाउपा

    काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्ना मन्त्री रामेश्वर चौधरी बर्खास्त भएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संघीय र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ ।

    पार्टी अध्यक्ष रञ्जिता चौधरीले औपचारिक निर्णय नभए पनि समर्थन फिर्ता गर्ने तयारी भएको पुष्टि गरेकी छन् ।

    पूर्वमन्त्री चौधरीको बर्खास्तीले पार्टी संरक्षक रेशम चौधरी पनि आक्रोशित छन् । उनले सामाजिक सञ्जालमा प्रतिपक्षमा बस्ने चेतावनी दिएका छन् ।

    हाल संघीय सरकारमा नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

    यद्यपि, संसदीय दलमा यसबारे कुनै औपचारिक निर्णय नभएको प्रमुख सचेतक गंगाराम चौधरीले बताएका छन् ।

    सुदूरपश्चिममा नाउपाका सात सांसद छन्। तर त्यहाँको संसदीय दलले पनि समर्थन फिर्ता सम्बन्धी निर्णय गरिसकेको छैन ।

    मन्त्री रामेश्वर चौधरीमाथि पावर टिलर वितरणमा आर्थिक अनियमितता र खप्तड पर्यटन विकास समितिमा चलखेलको आरोप लागेको थियो ।

    उनले राजीनामा नदिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पदबाट हटाएका हुन् ।

    यसअघि पनि नाउपाका मन्त्री लक्ष्मणकिशोर चौधरी अनियमितताको आरोप लागेपछि राजीनामा दिएका थिए । विवादका कारण नाउपा नेतृत्वमा असन्तोष चुलिएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images