काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकबारे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार बैठक समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक सांगठनिक विषयवस्तुमा केन्द्रित रहेको छ । साथै, रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनसम्बन्धी तयारीसमेत एजेन्डामा समेटिएको छ ।
रुपन्देही–३ का राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको स्थानमा हुन लागेको उपचुनावलाई राप्रपाले आफ्नो साख कायम राख्ने अवसरको रूपमा लिएको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय वनस्थलमा जारी छ ।
रास्वपा बैठकमा समेत समसामयिक राजनीतिक अवस्था, रुपन्देही–३ उपनिर्वाचनको रणनीति, संसद्मा जारी विरोध कार्यक्रम तथा कुलिङ पिरियडसम्बन्धी आन्तरिक विवादबारे गहन छलफल हुने बताइएको छ ।
आसन्न कात्तिकमा रूपन्दैही–३ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि रास्वपा र राप्रपाले उमेदवारको खोजी गरिरहेको छ । त्यसका लागि दुवै दलले आज छलफल गर्नेछन् ।























