काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सिटीका मेयर पदका उम्मेदवार जोरान माम्दानीलाई लक्षित गर्दै विवादास्पद र चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा म यो ‘कम्युनिस्ट पागल’ लाई न्यूयोर्क नष्ट गर्न दिने छैन । म सबै कुरा नियन्त्रणमा राख्नेछु, सबै विकल्पहरू मेरो हातमा छन् । म न्यूयोर्क सिटीलाई बचाउनेछु, अनि यसलाई फेरि हट र ग्रेट बनाउनेछु । ठीक त्यस्तै जसरी मैले अमेरिकालाई बनाएको थिएँ ।’
उनको यो टिप्पणीसँगै अमेरिकी राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । ट्रम्पको बयानलाई कतिपयले ‘राजनीतिक चरित्र हत्या’ को प्रयास भनेका छन् भने उनका समर्थकहरूले भने माम्दानीको विचारधारामाथि प्रश्न उठाएका छन् ।
ट्रम्प यसअघि पनि वामपन्थी विचार राख्ने नेताहरूमाथि कठोर टिप्पणी गर्दै आएका छन् । सन् २०२० को राष्ट्रपति चुनावका क्रममा उनले उपराष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसलाई समेत ‘कम्युनिस्ट’ भन्दै आलोचना गरेका थिए ।
न्युयोर्कका प्रगतिशील उम्मेदवार माम्दानीले सामाजिक न्याय, आप्रवासी अधिकार र सस्तो आवास नीतिको वकालत गर्दै आएका छन् । ट्रम्पको यस टिप्पणीपछि माम्दानी पक्षधरहरूले विरोध जनाएका छन् ।


विश्व खबर 


















