काठमाडौं– काठमाडौं जिल्ला अदालतमा आज पत्रकार दिलभूषण पाठकको बयान लिने र थुनछेक सम्बन्धी बहस गर्ने प्रक्रिया अघि बढाइएको छ । न्यायाधीश खेमराज भट्टको इजलासमा आजै उनको बयान दर्ज गरिनेछ र त्यसपछि थुनछेक बहस सुरू हुनेछ ।
पत्रकार पाठकविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइबर अपराधको अभियोगमा मुद्दा दर्ता गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
पाठकलाई पक्राउ नगरी नै मुद्दा दर्ता गरिएको हो । गत जेठ २८ गते काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिँदै पुर्जी जारी गरेको थियो । त्यसपछि असार २ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेशलाई विस्तार गर्दै असार ५ गते उच्च अदालतले पत्रकारका समाचार सामग्रीबारे प्रेस काउन्सिलमा उजुरी दिन सकिने कानुनी व्यवस्था रहेकाले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान आवश्यक नरहेको स्पष्ट पारेको थियो ।
पाठकले ‘टफ टक विथ् दिलभूषण पाठक’ नामक युट्युब च्यानलमार्फत हिल्टन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी भिडियो सामग्री सार्वजनिक गरेका थिए । सोही भिडियोपछि उनीविरुद्ध उजुरी परेको थियो ।
तर, उजुरी दिने व्यक्तिको नाम अभियोगपत्रमा परिवर्तन गरिएको छ । वास्तविक उजुरीकर्ता को हुन् भन्ने खुलेको छैन ।
आजको थुनछेक बहसपछि अदालतले पाठकलाई थुनामा राख्ने कि मुद्दाको पुर्पक्ष थुनाबाहिरै रहन दिने भन्नेबारे आदेश जारी गर्नेछ ।























