कठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले)को नेतृत्व लिने संकेत दिएर सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको केही दिनमै पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वबारे हुने बहसमा रोक लगाउने निर्देशन दिएका छन् ।
बुधबार प्रदेश र जिल्ला कमिटीसँगको भर्चुअल बैठकमा पोखरेलले पार्टीभित्र गुट निर्माणको प्रयास भइरहेको भन्दै नेतृत्व सम्बन्धी छलफल रोक्न निर्देशन दिए । उनले आगामी भदौमा हुने विधान महाधिवेशनमा विधि र नीति निर्माणमै केन्द्रित हुनुपर्ने बताए ।
तर, पोखरेलको निर्देशनलाई स्थायी समिति सदस्य कर्ण थापाले प्रतिवाद गरे । उनले पार्टीभित्रैबाट दुई कार्यकालको सीमा तोक्न नहुने र उमेरहद लागू नगर्ने चर्चा भइरहेको वेला अन्य मतप्रवाह रोक्न खोज्नु अनुचित भएको बताए ।
राजनीतिक विश्लेषकहरूले पोखरेलको निर्देशनलाई विद्या भण्डारीको सम्भावित नेतृत्व आकांक्षामाथि ब्रेक लगाउने प्रयासको रूपमा व्याख्या गरेका छन् । विश्लेषक कृष्ण पोखरेलका अनुसार ओली पक्षले पार्टी र राज्यसत्ताको प्रयोग गरी भण्डारीको राजनीतिक पहल सुरु हुनुअघि नै रोक्ने रणनीति अपनाएको छ ।
यसबीच विद्या भण्डारीले बुधबार गृह मन्त्रालयमा निवेदन दर्ता गर्दै पूर्वराष्ट्रपतिका हैसियतमा पाउँदै आएको सेवा–सुविधा औपचारिक रूपमा त्याग गरेकी छन् । यसले उनको पूर्णकालिक राजनीतिक सक्रियताको संकेत दिएको छ ।























