काठमाडौं– कर्णाली विकास बैंक घोटालामा संलग्न भन्दै पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा (एमाले)का केन्द्रीय सदस्य भएको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार मिश्रलाई नेपालगञ्जबाट पक्राउ गरेको हो । उनलाई बाँकेमा राखेर अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले जनाएका छन् ।
मधेश आन्दोलनबाट उदाएका मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके–२ बाट सूर्य चिन्ह लिएर स्वतन्त्र समूहबाट उमेदवार बने पनि पराजित भएका थिए ।
पछि उनी एमालेमा प्रवेश गरी केन्द्रीय सदस्य बने । एमालेबाट नेपालगञ्ज उपमहानगरको मेयरका उमेदवार भए पनि कांग्रेसका प्रशान्त विष्टसँग पराजित भएका थिए । मिश्र अहिले पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र मानिन्छन् ।
कर्णाली विकास बैंकको ठगी प्रकरणमा यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परिसकेका छन् । हालसम्म तीन जना पक्राउ परिसकेको सीआईबीले जनाएको छ।
यस प्रकरणमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ । करिब २ अर्ब ५० करोड रुपैयाँ अपचलन भएको भन्दै उजुरी परेको छ । बैंकमा संस्थापक अध्यक्ष रायको ८० प्रतिशत सेयर रहेको र उनले झन्डै १५ वर्ष कार्यकारी अध्यक्ष तथा सीईओको जिम्मेवारी सम्हालेका थिए ।
बैंक सञ्चालक समिति अध्यक्ष डा.ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन भएको विशेष छानबिन समितिले ठूलो रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो ।























